नेपाली पौडिबाज एलेक्स शाहले बनाए राष्ट्रिय कीर्तिमान

काठमाडौं । नेपाली पौडीवाज एलेक्जेन्डर (एलेक्स) शाहले पेरिस ओलम्पिकमा आफ्नो प्रदर्शनमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पेरिस ओलम्पिकमा पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका एलेक्सले ५१ः९१ सेकेन्डमा दुरी पार गरे ।

यस इभेन्टमा ८९ पौडीवाजले हिट चरणमा प्रतिस्पर्धा गरेका थिए । एलेक्स हिट नम्बर ३ मा थिए । हिटमा उनी तेस्रो स्थानमै रहे । उनकै नाममा राष्ट्रिय कीर्तिमान ५२ः१७ सेकेन्डको थियो । एलेक्सले उक्त कीर्तिमान गत फेब्रुअरीमा दोहामा भएको वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा बनाएका थिए ।

एलेक्सको दोस्रो ओलम्पिक सहभागिता हो । यसअघि उनले २०२० को टोकियो ओलम्पिक खेलेका थिए । टोकियोमा उनी १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दा ७१ प्रतिस्पर्धीमध्ये ५९ औं स्थानमा आएका थिए । उनी अमेरिकामा अध्ययनसँगै प्रशिक्षण गरिरहेका खेलाडी हुन् । २१ वर्षीय उनले चीनमा १९ औं एसियाली खेलकुदमा पनि सहभागिता जनाएका थिए ।

एलेक्सको सँगै पेरिस ओलम्पिकमा सहभागी सातमध्ये ५ खेलाडीको प्रतिस्पर्धा टुंगिएको छ । पौडीकी डुवाना लामा, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, टेबलटेनिसका स्यान्टु श्रेष्ठले यात्रा टुंग्याइसकेका थिए । अब ब्याडमिन्टनका प्रिन्स दाहालले आफ्नो समूह चरणको तेस्रो खेल खेल्न बाँकी छ । उनले सुरुका दुइ खेलमा भने पराजय भोगिसकेका छन् ।

म्याराथन धाविका सन्तोषी श्रेष्ठले भने पेरिस ओलम्पिक समापनको दिन महिला म्याराथनमा सहभागिता जनाउने छिन् । त्यसका लागि उनी आज मंगलबार त्यसतर्फ प्रस्थान गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here