कार्ल्सबर्गमा १ खर्ब रुपैयाँको खरीद-बिक्रि सम्झौता

काठमाडौं । खेतान समूहका सीपी खेतानले नेपालको गोर्खा ब्रुअरी र भारतको कार्ल्सबर्ग इन्डियाको सेयर १ खर्ब रुपैयाँ (७४ करोड ४० लाख अमेरिकी डलर) मा बिक्रि गरेको छ । सिंगापुरको कम्पनी सीएलएपीएल (सिंगापुर) होल्डिङ पीटीई लिमिटेडको ३३.३३ प्रतिशत सेयर कार्ल्सबर्ग साउथ एसिया पीटीई लिमिटेड (सीएसएपीएल)ले किनेको काल्र्सबर्गद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

सीएलएपीएल (सिंगापुर) होल्डिङ्सको ३३.३३ प्रतिशत सेयर सीपी खेतानसँग थियो । अब त्यो कम्पनीको सम्पूर्ण स्वामित्व कार्ल्सबर्ग साउथ एसियासँग हुनेछ । यो सेयर खरिद बिक्रीका विषयमा खेतान र कार्ल्सबर्गबीच लामो समयदेखि विवाद रहँदै आएको थियो ।

सीएलएपीएल (सिंगापुर) होल्डिङ्ससँग भारतको कार्ल्सबर्ग इन्डिया लिमिटेडको शतप्रतिशत सेयर स्वामित्व छ । नेपालको गोर्खा ब्रुअरी प्रालिको ९० प्रतिशत सेयर पनि सोही कम्पनीसँग भएको विज्ञप्तिमा उल्लेख छ ।

गोर्खा ब्रुअरीको बाँकी १० प्रतिशत सेयरमध्ये ९.९४ प्रतिशत सयेर पनि कार्ल्सबर्ग साउथ एसियाले नै खरिद गर्ने सम्झौता भएको छ । यो सम्झौतापछि कार्ल्सबर्ग इन्डियाको शतप्रतिशत सेयर स्वामित्व र नेपालको ९९.९४ प्रतिशत स्वामित्व कार्ल्सबर्ग ग्रुपसँग हुने उसले जनाएको छ ।

यो सम्झौताअनुसारको कारोबार सन् २०२४ को अन्तिमसम्म परा हुने समेत बताइएको छ । तर, नेपालमा सरकारी अनुमति प्राप्त गर्नेलगायत सर्तहरू पूरा नभएको अवस्थामा त्यो अवधि लामो पनि हुनसक्ने जनाइएको छ ।

कुल कारोबार रकममध्ये २० करोड ७० लाख डलर (करिब २७ अर्ब ८० करोड रुपैयाँ) कार्ल्सबर्ग समूहले नै राख्ने र कम्पनीहरूमा आउनसक्ने सम्भावित दावी त्यसैबाट भुक्तानी गर्ने जनाइएको छ । यो रकम सीपी खेतानले ३ देखि ५ वर्षपछि मात्रै प्राप्त गर्ने पनि जनाइएको छ ।

यो खरिद बिक्रीले कार्ल्सबर्ग इन्डिया र कार्ल्सबर्ग साउथ एसियाको खाता एकीकरणमा कुनै प्रभाव नपर्ने ग्रुपले जनाएको छ । तर, नेपालको खाता एकीकरण बाँकी रहेको र खेतान समूहको ९.९४ प्रतिशनत सेयर खरिद गरिसकेपछि त्यो पनि एकीकृत हुने जनाइएको छ ।

‘हामी हाम्रो साझेदारसँग एउटा सौहार्द्रपूर्ण समझदारीमा पुग्न सकेकोमा खुसी छौं । अब एसियाको दुई महत्त्वपूर्ण मुलुकको बजारमा हाम्रो पूर्ण नियन्त्रण स्थापित भएको छ,’ कार्ल्सबर्गका ग्रुप सीईओ ज्याकोब आरुप एन्डरसनले भने ।

भारतको बजार विस्तार गर्नु आफ्ना लागि निकै महत्त्वपूर्ण भएको र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि लगानी विस्तार गर्ने पनि एन्डरसनले उल्लेख गरेका छन् । कार्ल्सबर्गको भारतको बियर बजारमा करिब १७ प्रतिशत हिस्सा छ भने नेपालमा ७० प्रतिशतभन्दा ठूलो बजार हिस्सा रहेको उसको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here