श्रमिक मागपत्र प्रमाणीकरणलाई अनलाइन बनाउन परराष्ट्र सचिवको निर्देशन

काठमाडौं । परराष्ट्र सचिव सेवा लम्सालले डिजिटल सुशासन लागू गर्ने नेपाल सरकारको नीतिबमोजिम मागपत्र प्रमाणीकरणमा अनलाइन प्रक्रियालाई आत्मसात गर्न पश्चिम एशियास्थित नेपाली नियोगहरुलाई निर्देशन दिएकी छन् ।

नेपाल र ओमान बीचको परामर्श संयन्त्रको प्रथम बैठकको लागि ओमान पुगेकी लम्सालले पश्चिम एशियास्थित नेपाली नियोगका राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूतू, श्रम काउन्सेलर एवं श्रम सहचारीलगायत नियोगमा कार्यरत कर्मचारीसँगको भर्चुअल वैठकमा यस्तो निर्देशन दिएकी हुन् ।

उनले सेवा प्रवाहलाई सरल, पारदर्शी र प्रभावकारी बनाउन पनि भनेको ओमानको मस्कटस्थित नेपाली दूताबासले एक विज्ञप्तिमा जानकारी दिएको छ ।
साथै श्रमिकका समस्या समाधान गरी वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन सबैको सार्थक भूमिका रहनुपर्ने बताउँदै आर्थिक कूटनीति प्रवद्र्धनका लागि सक्रियातापूर्वक काम गर्न पनि उनले निर्देशन दिएकी छन् ।

उक्त बैठकमा अनलाइन मागपत्र प्रमाणीकरण, घरेलु महिला कामदार, श्रमिकको उद्धार, क्षतिपूर्ति, शव व्यवस्थापन लगायत श्रमिकसँग सम्बन्धित समस्या एवं समाधानका उपाय, व्यापार, लगानी, पर्यटन तथा रोजगार प्रवर्द्धन, नेपाली नियोगमा श्रोत–साधनको व्यवस्थापन आदि विषयमा छलफल गरिएको दूतबासले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here