पेरिस ओलम्पिकमा तौल विवादपछि फाइनल गुमाएकी भारतीय कुस्तीवाजले छाडिन कुस्ती

काठमाडौं । अधिक भार सम्बन्धी विवादले पेरिस ओलम्पिकमा फाइनल खेल खेल्नबाट बन्चित भारतीय कुस्तीवाज विनेश फोगाटले कुस्तीलाई अलबिदा भनेकी छन् ।
उनले आफ्नो हिम्मत टुटिसकेको भन्दै कुस्तीलाई अलबिदा भनेकी हुन् ।

सामाजिक सन्जाल एक्समा उनले लेखेकी छन्, ‘आमा कुस्तीले मलाई जित्यो, म हारेँ । माफ गर्नुहोला तपाईंको सपना, मेरो हिम्मत सबै टुटिसक्यो । योभन्दा ताकत अब छैन ।’ उनले थप लेखेकी छन्, ‘अलबिदा कुस्ती २००१–२०२४ । म तपाईंहरु सबैको सदैव ऋणी रहने छु ।’

कुस्तीको ५० केजी तौलको प्रतिस्पर्धामा बढी तौल भएपछि उनी फाइनल खेल्नबाट बन्चित भएकी थिइन् । मंगलबार ५० केजी फ्रिस्टाइलतर्फ विश्वकी नम्बर वान् तथा २०२० ओलम्पिककी च्याम्पियन यु सुसाकीलाई प्री क्वाटरफाइनलमा, युक्रेनकी ओक्सना लिभाचलाई क्वाटरफाइनलमा र क्युबाकी गुज्मानलाई सेमिफाइनलमा हराउँदै फोगाट फाइनलमा पुगेकी थिइन् ।

सेमिफाइनलमा उनी ५–० ले विजयी भएकी थिइन् । तर फाइनल खेल अगाडि लिइएको तौलमा उनको वजन १०० ग्राम बढी भएको पाइएपछि फाइनल खेल्न बन्चित भएकी थिइन् । फोगाटले एक्स अकाउन्टमा लेखेको स्टाटसमा प्रतिक्रिया दिँदै भारतका पहलवान बजरंग पुनियाले विनेश फोगाट हारेको नभई हराइएको टिप्पणी गरेका छन् ।

उनले सान्त्वना दिँदै लेखेका छन्, ‘विनेश तिमी हारेकी होइनौ, हराइएको हो । हाम्रा लागि तिमी सदैव विजेता रहने छौ । तिमी भारतकी छोरी मात्र नभई भारतको गौरव पनि हौ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here