अपर तामाकोशी : पौने ९ अर्बको बिजुली बेच्दा पनि कम्पनी घाटामा

काठमाडौं । अपर तामाकोशी जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ मा ८ अर्ब ७५ करोड रुपैयाँको बिजुली बेचेकोछ । बिजुली बिक्री आम्दानी अघिल्लो आर्थिक वर्ष २०७९–८० को तुलनामा ७.९ प्रतिशतले बढेको छ ।

विद्युत् बिक्री आम्दानी उल्लेख्य भए पनि कम्पनी गत आर्थिक वर्षमा पनि नोक्सानीमा गएको छ । कम्पनीले गत आर्थिक वर्ष २ अर्ब ६८ करोड रुपैयाँ नोक्सानी ब्यहोरेको छ । नोक्सानी अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो ।

अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ९ करोड नोक्सानी थियो । समग्रमा ब्याजदर घट्दा कम्पनीको वित्तीय लागत घटेको छ । अघिल्लो आर्थिक वर्षमा वित्तीय लागत ७ अर्ब २७ करोड रहेकोमा गत आर्थिक वर्षमा यो ६ अर्ब ६९ करोड छ ।

दीर्घकालीन ऋण उच्च रहेकाले त्यसको ब्याजले कम्पनीको वित्तीय लागत उच्च छ । जसले गर्दा विद्युत् बिक्री आम्दानी उल्लेख्य भए पनि कम्पनी नोक्सानीमा गएको हो । कम्पनीको दीर्घकालीन ऋण नै ७१ अर्ब १३ करोडभन्दा बढी छ ।

आयोजना निर्माणमा भएको अत्याधिक ढिलाइका कारण कम्पनीको दीर्घकालीन ऋण उच्च हुन गएको हो । हाल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट कम्पनीले विद्युत् उत्पादन गरी बिक्री गरिरहेको छ ।

नोक्सानीसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि १२ रुपैयाँ ६९ पैसा ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ जम्मा ५६ रुपैयाँ ८८ पैसा छ । २१ अर्ब १८ करोड चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ पनि ९ अर्ब १३ करोड ऋणात्मक छ । सोमबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता २५४ रुपैयाँ ९० पैसा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here