मौसमी गठबन्धनको पटाक्षेप, डा. भट्टराई र पन्तको जुहारी

रक्षा रेग्मी

काठमाडौं, १४ असोज । डाक्टर साबलाई हामीले जिताएको हो – नेपाली काँग्रेस नेतृ कमला पन्त ।

त्यो त मैले मितलाई सित्तैमा दिए मितले मलाई सित्तैमा दिएँ भने जस्तै हो – समाजवादी नेता डा. बाबुराम भट्टराई ।

गोरखा पत्रकार मञ्चले मंगलबार राजधानीमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पन्त र डा. भट्टराईको जुहारी हो यो ।

दुई नेताको जुहारीले कार्यक्रममा उपस्थित सबै मजाले हाँसे । तर, त्यसले नेपाली राजनीतिमा हुने मौसमी गठबन्धन र स्वार्थको बाझाबाझको नमीठो पाटोलाई भने कोट्याएरै छाड्यो ।

प्रसंग संसदीय निर्वाचनमा नेपाली कंग्रेसले गोरखामा गरेको सहयोगको हो । गत आमनिर्वाचनमा डा. भट्टराईलाई सघाएर काँग्रेस र काँग्रेसलाई सघाएर डा. भट्टराईले दीर्घकालमा केही लाभको हिसाब गरेका थिए जुन पुरा भएन ।

मंगलबारको घोचपेच त्यसै कडीको एउटा घटना मात्र थियो । हेर्दा हल्का र व्यंग्य लागे पनि त्यसको अन्तर्य भने ज्यादै गम्भीर थियो । यसवीचमा डा. भट्टराईको चुनाबी दल नै अस्तित्वविहीन भएको छ भने काँग्रेस दुई तिहाईको नेकपा सरकारका अगाडि गरुडको छायाँ परेको सर्पजस्तै बनेको छ ।

यद्यपि प्रजातन्त्रको सौन्दर्य भनेकै यही हो । प्रजानन्त्रमै मितसँगका खुशी र गुनासा साटासाट गर्न पाइन्छ ।

त्यसो त कार्यक्रममा ठट्टा भन्दा बढी गम्भीर प्रसंगहरु उप्काइएका थिए । नेताहरु आफ्नो जिल्ला र स्थानीय क्षेत्रको विकासप्रति सचेत र चिन्तित पनि देखिए ।

बहुप्रतिक्षित बुुढीगण्डकी जलविद्युत आयोजनादेखि बैकल्पिक राजमार्ग निर्माणको कार्यमा चलखेल भएको भन्दै पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले चिन्ता व्यक्त गरेका थिए ।

१ हजार २ सय मेगावाटको जलाशयमा आधारित मेगा प्रोजेक्ट बुढीगण्डकी अरुको हातमा सुम्पिनुभन्दा पनि आफैले बनाउनुपर्ने उनको धारणा थियो । बरु त्यसका लागि पत्रकारले समेत निरन्तर आवाज उठाउन उनले सुझाव दिए ।

‘खासगरी गोरखाका पत्रकारको त यो कर्तव्य नै हो’ उनले भने । उनले यती ठुलो परियोजनामा जनताले सहयोग गरेको पहिलो पटक भएको समेत बताए ।

गोरखकाली रबर उद्योगलाई नयाँ ढंगले सञ्चालन गर्नुपर्ने माग पनि उनले राखे । प्राकृतिक तथा सांस्कृतिक रुपमा धनी भए पनि विकट भएकोले गोरखालाई ऐतिहासिक धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य तथा नेकपा केन्द्रीय सदस्य हरिराज अधिकारीले पनि बुढीगण्डकी अलपत्र परेकोमा चिन्ता व्यक्त गरे । साथै उनले बेनिघाट खैरेनी बैकल्पिक राजमार्गमा बेलाबेलामा ब्यावधान आएकोले सो आयोजना अगाडी नबढेको बताए ।

‘त्यहाँ काम शुरु भएजस्तो हुन्छ अनि विभिन्न राजनीतिक तथा अन्य माग राखेर काममा अड्चन सिर्जना गरिन्छ जसले त्यहाँका जनताले विकास र समृद्धिको लाभ लिनै पाएका छैनन,’ उनले भने ।

यसका साथै चुमनुब्री सम्भावना बोकेको नाका भएपनि सुन तस्करीको बाटोको रुपमा मात्र रहेकोले त्यसतर्फ ध्यान दिनुपर्नेमा अधिकारीको जोड थियो । उत्तरी क्षेत्रमा नाका पुर्याउन सकेमा गोरखाको लार्के मध्य नेपालको सबैभन्दा सुरक्षित नाका हुने उनको दाबी थियो ।

प्रतिनिधिसभा सदस्य चुडामणि खड्काले पत्रकारले दलको दलाली गर्ने भन्दा पनि खबरदारी गर्नुपर्नेमा जोड दिए । पत्रकारिताले समाजको तटस्थ रिपोर्टिङ गर्नुपर्ने उनको भनाइ छ । त्यसैगरी नेकपाका युवा नेता लेखनाथ न्यौपानेले चाडपर्वका बारेमा पनि छुट्टै बहस हुनुपर्ने र तिनमा समयोचिन सुधार हुनुपर्ने बताए ।

सो अवसरमा रामजी दाहाल, खिलबहादुर भण्डारी प्रदिपराज वन्तलगायत पत्रकारहरुले गोरखाली पत्रकारले आफ्नो गाउँठाउँको विषयमा पनि कलम चलाउनुपर्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here