‘असल प्रतिपक्ष’ जस्तै सुनिए संसदमा गगन

काठमाडौं । एमालेसँग मिलेर सरकार बनाएको एक महिनापछि कांग्रेस महामन्त्री गगनकुमार थापा मंगलबार विशेष समयमा संसदमा बोले । निकै सन्तुलित भाषण गरेका उनले २० मिनेट खर्च गरे ।

जसमा उनले अधिकांश समय सरकार, प्रधानमन्त्री र मन्त्रीहरुको सुझावमा खर्च गरे । सत्तारुढ दलहरु नै बढी जिम्मेवार हुनु पर्ने भन्दै थापाले संविधान निर्माण, सुशासन र विकास निर्माणमा सरकारले कसरी काम गरोस् भन्ने चाहेको छ भन्ने बारे खुलाए । उनले प्रधानमन्त्रीलाई खबरदारी गर्दै भने, ‘डन्ट टेक अस फर ग्रान्टेड ।’

संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच १७ असारमा नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । त्यसअनुसार ३० असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीले भोलिपल्ट शपथसँगै २१ मन्त्री नियुक्त गरे । त्यसको एक महिनापछि मंगलबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री थापाले आफू सरकार बनाउने काममा धेरै नलागेको बताए ।

तर परिणाममा जे भएको छ, एकदमै ठीक भएको भन्दै उनले भने, यो असामान्य छ, ठीक छ, यसलाई ठीक बनाउनुपर्छ ।’ त्यसका लागि दुई दलबीच भएको सातबुँदे सहमतिको मुख्य तीन विषयलाई आधार बनाउनुपर्ने बताए ।

सातबुँदेको मुख्य कुरामध्ये एक राजनीतिक स्थायित्वका लागि संविधानमा संशोधन भएको कांग्रेस महामन्त्री थापाले बताए । तर त्यसका आधारमा संविधान संशोधन गरेर पछाडि फर्किन खोजेको वा दुई दलको सिण्डिकेट बनाउन खोजेको आरोप लागेको भन्दै उनले भने, ‘कोही पछाडि फर्किन चाहँदैनौं ।’

संघीयता र गणतन्त्र यो भन्दा राम्रो बनाउनुपर्ने र मानुपातिक समावेशी प्रतिनिधित्व यो भन्दा बढाउनुपर्ने उनले बताए । निर्वाचन प्रणालीको बहसमा कतिपयले प्रतिनिधि सभालाई प्रत्यक्ष र राष्ट्रियसभालाई समानुपातिक बनाउने भनेको भन्दै उनले भने, ‘यो मिल्दैन । हामी तलकै सदनलाई यो भन्दा बढी समावेशी बनाउन सक्छौं । सँगै कुनै पनि दलले ४० प्रतिशत हाराहारी मत ल्याउँदा ५ वर्ष एकल सरकार चलाउने गरी मिलाउन पनि सक्छौं ।’

देखिएका समस्याहरु हल गर्ने र अझ समानुपातिक समावेशी बनाउनुपर्ने उनले बताए । थापाले भने, कांग्रेस र एमाले यो बहसबाट भाग्ने पनि होइन, बरालिने पनि होइन । प्रष्ट हुने, अरु दल र नागरिकसम्ग सम्वाद गर्ने हो ।’ सुशासन तथा भ्रष्टाचार नियन्त्रणको विषय सरकारले बोल्ने भन्दा काम गरेर देखाउनुपर्ने बताए । भुटानी शरणार्थी, गिरीबन्धु, डेडिकेटड टंक लाइनमा ढाकछोप गर्न दुई दल रातारात मिले भनेर आरोप लागेको भन्दै उनले भने, ‘यसबाट पनि भाग्ने होइन, आफ्नो कामबाट प्रष्ट बनाउनुपर्छ ।’

हरेक सरकार निरन्तरतामा हुने भन्दै महामन्त्री थापाले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कहाँ पुगेको छ रु थप के हुन्छ भनेर सरकारले भन्नुपर्ने बताए । ‘यो विषयमा निर्दोष एउटा पनि पर्दैन, दोषी एउटा पनि उक्कँदैन भनेर सरकारले आफ्नो व्यवहारबाट आश्वस्त पानुपर्छ’ महामन्त्री थापाले अगाडि भने ।

गिरीबन्धु टी इस्टेटमा पनि सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको भन्दै उनले जुन सरकार आए पनि त्यसअनुसार नै गर्नुपर्ने बताए । गिरीबन्धुको हदबन्दी भन्दा बढी जग्गा सरकारको नाममा फिर्ता लेउ र अन्यत्र पनि ऐनको दुरुपयोग भरेर हदबन्दी भन्दा बढी लिएको जग्गा पहिचान गर भन्ने अदालतको आदेश रहेको भन्दै उनले भने, ‘जग्गा फिर्ता ल्याउन अनुगमन समिति बनाउने व्यवस्था छ । त्यो तरुन्त बनाऊ भनेको छ अदालतले । अब सरकारको एक्सन चाहियो ।’

डेडिकेटेड र टंक लाइनमा पनि संसदीय समितिको निर्णय, अदालतको आदेश, लाल आयोगका प्रतिवेदनहरुका आधारमा अगाडि बढ्नुपर्ने महामन्त्री थापाले बताए । उनले अगाडि भने, ‘सरकारले यहाँ आएर भन्नुपर्छ, कसैले बिजुली प्रयोग गरेको छैन भने अन्याय हुन दिँदैनौं ।

तर जतिसुकै शक्तिशाली होस्, अनुचित लाभ पनि लिन दिन्नौं भनेर विश्वास दिलाउनुपर्छ ।’ कांग्रेस र एमाले मिल्नुको अर्को कारण विकास निर्माण र सेवा प्रवाह भएको भन्दै कांग्रेस महामन्त्री थापाले सरकारका मन्त्रीहरुलाई काममा केन्द्रित हुन सुझाव दिएका छन् ।

प्रधानमन्त्रीले मिहिनेत गरेको देखिएको भन्दै उनले थप विषय उनी संसदमा उपस्थित भएकै बेला भन्ने बताए । मन्त्रीहरुबारे बोल्दै उनले २४ महिनामा के गर्ने र प्रत्येक महिना के प्राप्त गर्ने भनेर योजना बनाएको होला भन्ने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here