किन खुम्चियो नेपाल टेलिकमको नाफा ?

काठमाडौं । नेपाल टेलिकमको नाफा खुम्चिएको छ । कूल आयमा कमी आउँदै खुद मुनाफामा समेत कमी आएको आंकडामा देखिएको छ । आव २०८०\८१ मा नेपाल टेलिकमको कूल आय ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ छ ।

यो अघिल्लो आवको तुलनामा २ अर्ब ६५ करोड कम हो । सो आवमा ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार रुपैयाँ थियो । नेपाल टेलिकमको कूल सञ्चालन आयमा ४.९९ प्रतिशतले कमी आएको छ ।

आर्थिक वर्ष २०८०–८१ मा नेपाल टेलिकमको कूल सञ्चालन आय ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रुपैयाँ थियो । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ८१ करोड ३ लाख १५ हजार रुपैयाँले कमी हो । आर्थिक वर्ष २०७९\८० मा नेपाल टेलिकमको कूल सञ्चालन आय ३६ अर्ब २७ करोड १४ लाख ५० हजार रुपैयाँ थियो ।

आय नै घटेकाले आर्थिक वर्ष २०८०–८१ मा खुद मुनाफा ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँ मात्र छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ३० करोड २३ लाख ७८ हजार रुपैयाँले कम हो । अघिल्लो आर्थिक वर्ष खुद मुनाफा ७ अर्ब ९२ करोड १ लाख ५५ हजार रुपैयाँ थियो ।

नेपाल टेलिकमको खुद मुनाफा १६.४४ प्रतिशतले कम भएको छ । प्रति शेयर आम्दानी ३६.७७ रहेको नेपाल टेलिकमको कर अघिको मुनाफा ३.९१ प्रतिशतले कमी आएको छ ।

नेपाल टेलिकमका अनुसार राजश्व र खुद मुनाफा कम हुनुमा ओटीटी सेवाको बढ्दो कारण अन्तर्राष्ट्रिय सेवा तथा अन्तरआबद्धता आयमा गत आर्थिक वर्षको तुलनामा करिब १ अर्ब ४३ करोड ८४ लाख ४८ हजारले कमी हुनु हो । साथै ओटीटी सेवाले कम्पनीको समग्र भोइस र एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको छ ।

नेपाल टेलिकम राष्ट्रको सञ्चार भएकाले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्य गर्दा लागतसमेत बढेकाले पनि खुद मुनाफा कम भएको हो । सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरु परिवर्तन भएकाले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकूल असर परेको टेलिकमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here