क्यानडामा रोजगारीका अवसर कम, डेरा पाउनै कठिन

`
काठमाडौं । रोजगारी र अध्ययनका अवसरको खोजीमा क्यानडा पुग्नेहरुको संख्यामा तिब्र वृद्धि भएसँगै त्यहाँ डेरासमेत पाउन मुश्किल हुन थालेको छ । ओटावास्थित नेपाली दूताबासले गएराती एक सूचना जारी गर्दै नेपालीहरुलाई क्यानडा जानुअघि आफू बस्ने ठाउँको यकिन गरेर मात्र आउन सुझाव दिएको छ ।

दूतावासका अनुसार विश्वभरीबाटै आउने विद्यार्थीहरूको संख्या बढेसंगै क्यानडाभरी विद्यार्थी आवास र रोजगारीका अवसरमा तिव्र चाप परेको र यसले त्यहाँ बस्ने डेरा र रोजगारीको अवसर पाउन कठिन भैरहेको छ ।

‘यो यथार्थलाई बुझेर अध्ययनका लागि क्यानडा आउनु पूर्व बस्ने ठाउँको यकिन गरेर आउन उचित हुन्छ । सोसियल मिडियामा दिइएका विज्ञापनकै आधारमा आवासका लागि अग्रिम भाडा भुक्तानी गर्दा ठगीमा पर्न सक्ने सम्भावना बारे सचेत रहनुपर्छ,’ सूचनामा भनिएको छ ।

निकट भविष्यमै नयाँ शैक्षिक शत्रको शुरुवात हुन लागेकोले अध्ययनका लागि क्यानडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई लक्षित गर्दै दूतावासले नयाँ सूचना जारी गरेको हो ।

रोजगारीका अवसर तथा डेराबारे बुझ्नका लागि क्यानडामा रहेका आफन्त, इष्टमित्र, साथीहरू, सिनियर वा पूर्व विद्यार्थीहरू, विद्यार्थीहरूका सोसल मिडिया नेटवर्क, सम्बन्धित शहरमा रहेका गैर आवासीय नेपाली संघलगायत नेपाली डायस्पोराका संघसंस्थाहरुको सहयोग लिन सकिन्छ ।
उनीहरुसँग आफू जान लागेको ठाउँ, पढाइको तौरतरिका, लाग्ने खर्च, आवासको उपलब्धता, रोजगारीका संभावना आदिवारे पर्याप्त मात्रामा बुझी जानकारी लिएर, तयारीका साथ आउँदा एकै चोटी व्यहोर्नुपर्ने समस्याहरू सामना गर्न सहज हुन्छ, दूतावासले भनेको छ ।

यस्ता छन् नेपाली दूतावासका सुझावः

– अभिभावकहरूले आफ्ना छोराछोरीको अध्ययन, आवास र बस्नेखाने खर्चको यथोचित प्रबन्ध गरेर मात्र पठाउनुपर्दछ ।

– क्यानडा जानासाथ रोजगारी पाइन्छ भन्ने भ्रममा पर्दा धेरै विद्यार्थीहरू विगतमा समस्यामा परेको यथार्थता बुझी क्यानडा आउँदा अध्ययनका लागि कलेज वा विश्वविद्यालयको पढाइ शुल्क, बस्ने र खाने खर्चको आवश्यक प्रवन्ध गरेर मात्र आउनुपर्छ । त्यसो नगर्दा आइसकेपछि कलिला उमेरका विद्यार्थीहरूलाई एकैचोटी पर्न जाने आर्थिक, शैक्षिक, आवास, खाने खर्च र रोजगारी अभावको तनाव र चुनौतिका कारण विद्यार्थीमा पर्न सक्ने तनाव र मनोवैज्ञानिक समस्यातर्फ अभिभावक तथा विद्यार्थी दुवैले शुरुमै सावधानी अपनाउन उचित हुन्छ ।

– विद्यार्थीहरूका लागि दूतावासबाट २०८१ वैशाख १७ मा जारी गरिएको जानकारीमूलक सूचना राम्ररी अध्ययन गरी क्यानडा आउने तयारी गर्न उचित हुन्छ । उक्त सूचना नेपाली राजदूतावासको वेवसाइट https://ca.nepalembassy.gov.np/, फेसबुक पेज Nepal Embassy, Ottawa, र एक्स एकाउन्ट Embassy of Nepal, Canada (@nepal_of) मा हेर्न सकिन्छ ।

– आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको शहर आदि बारे पर्याप्त खोजी गरी बुझेर आउँदा यहाँ आइसकेपछि व्यहोर्नु पर्ने समस्या कम गर्नं सकिन्छ ।

– अवास्तविक, अपर्याप्त र अतिरंजित प्रचार प्रसारमा मात्र भर गरेर पूर्ण तयारी नगरी आउँदा विद्यार्थीहरूले विविध समस्या व्यहोर्नु परेको यथार्थलाई राम्ररी ध्यान दिनुपर्छ ।

– क्यानडाको हावापानी शीत ऋतुमा अत्यन्तै चिसो हुने हुँदा सो ठाँउँको हावापानी बारे पूर्वजानकारी लिएर तयारी गर्नु उचित हुन्छ ।

– भर्खर उमेरका कलिला युवा विद्यार्थीहरूले एक्कासी क्यानडा पुगेपछि अध्ययनका अतिरिक्त आफै गर्नुपर्ने कामहरु जस्तै पकाउने, सरसफाई, किनमेल, परिवहन, बजार, आवतजावत आदिका स्थानीय तौरतरिकाबारे पूर्व जानकारी लिएर आउँदा अचानक आइपर्ने नयाँ परिस्थिति सामना गर्न सहज हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here