नेपालले आईसीसी यू–१९ पुरुष विश्वकप छनोट आयोजना गर्ने

काठमाडौं । नेपालले आईसीसी यू–१९ पुरुष विश्वकप छनोट आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अप्रिल १२ देखि २१ सम्म हुने प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, यूएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् ।

छनोट चरणको विजेता टोली २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्ने छ । एसिया डिभिजन १ क्षेत्रमा विजेता र उपविजेता बनेर ओमान र हङकङ नेपालमा हुने प्रतियोगिताका लागि छनोट भएका हुन् ।

नेपालले यसअघि सन् २००१ र २००५ मा एसीसी यू–१९ एसिया कप आयोजना गरेको थियो, दुवैपटक विजेता बन्दै नेपाल यू–१९ विश्वकपमा पुगेको थियो ।

यसै वर्ष दक्षिण अफ्रिकामा भएको आईसीसी यू–१९ विश्वकप जितेको अस्ट्रेलियासहित भारत, इंग्ल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, श्रीलंका, वेस्ट इन्डिज, बंगलादेश, आयरल्यान्ड र आयोजक जिम्बावे अब हुने विश्वकपका लागि सोझै छनोट भइसकेका छन् ।

पछिल्लो एसिया छनोटचरणमा नेपालले यूएईलाई पराजित गर्दै यू–१९ विश्वकपमा पुगेको थियो । नेपालले यसै वर्ष भएको विश्वकपमा समूह चरणमा अफगानिस्तानलाई पराजित गर्दै सुपर ‘एट’ मा पुगेको थियो । समूह चरणबाटै बाहिरिएको अफगानिस्तानले यसपटक एसिया छनोट खेल्नुपर्ने भएको हो ।

नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२, २०१६ र २०२४ मा गरी ८ पटक यू–१९ विश्वकप खेलिसकेको छ । २०००, २०१२ र २०१६ मा गरी तीनपटक यू–१९ विश्वकपको दोस्रो चरणमा पुगेको नेपालले २००६ मा प्लेट फाइनल जितेको थियो भने २००२ र २००६ मा प्लेट फाइनलको उपविजेता भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here