साफ यु–२० च्याम्पियनसिप आजदेखि सुरु हुँदै, नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । ६ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ ।

समूह-ए मा रहेका नेपाल र श्रीलंकाबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । लगातार दोस्रोपटक प्रतियोगिता आयोजना गरिरहेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यमा छ ।

श्रीलंकाले भने आन्तरिक कारण गत संस्करणको प्रतियोगिता खेलेको थिएन । नेपाली टोली कुशल देउवाको कप्तानीमा मैदान उत्रँदैछ । गत वर्ष साफ यु–१९ च्याम्पियनसिपमा नेपालको कप्तानी गरेका जियारथ शेख यसपटक पनि टिममा छन् ।

नेपाली टोलीमा यसपटक डिभिजन लिग र एनएसएल खेलेका खेलाडीहरू हुँदा टिम अनुभवी बनेको छ । यस्तै राष्ट्रिय टिमबाट खेलिसकका फरवार्ड समिर तामाङ पनि टिममा छन् ।

अनुभवी खेलाडी, घरेलु मैदान र दर्शकको साथमा राम्रो प्रदर्शन गर्ने मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बताएका छन् । साफ यु२० च्याम्पियनसिपमा पाकिस्तानसहित दक्षिण एसियाका ६ टोलीको सहभागिता छ ।

समूह ए मा नेपाल र श्रीलंकासहित बंगलादेश छ भने साविक विजेता भारतसहित भुटान र माल्दिभ्स समूह बी मा छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here