अमेरिकाका लागि डीभी खुल्यो, कार्तिक १८ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं, १५ असोज । संयुक्त राज्य अमेरिकाले सन् २०२० को लागि ईलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी)का लागि आवेदन खुला गरेको छ ।

डीभी भर्न इच्छुक नेपालीले बुधबार १२ बजेदेखि आगामी नोभेम्बर ५ तारिख (२०७६ कार्तिक १८) को मध्यान्ह १२ बजेसम्म आवेदन दिन सक्नेछन् ।

निःशुल्क भर्न सकिने डीभी आवेदनका लागि आवेदकले पासपोर्ट नम्बर, पासपोर्ट अवधि र ईमेल ठेगाना अनिवार्यरुपमा पेश गर्नु पर्नेछ । अमेरिकाले डीभी आफै भर्न अनुरोध गरेको छ ।

विगतमा विभिन्न कम्पनी तथा इन्स्टिच्युटहरुले पैसा लिएर डीभी भरिदिन थालेपछि काठमाडौंस्थित अमेरिकी दूताबासले डीभी निःशुल्क भएको सार्वजनिक सूचना नै निकालेको थियो ।

डीभी आवेदन दिनेहरुले एक पटक मात्र फाराम भर्नुपर्नेछ । एकै व्यक्तिले एक पटक भन्दा बढी आवेदन दिए उक्त व्यक्ति अयोग्य हुने बताईएको छ ।

यस वर्ष करीब ५५ हजारले डीभी मार्फत अमेरिकी भिसा पाउने छन् । कम्प्युटर प्रविधिबाट चिठ्ठा सञ्चालन गरी योग्य व्यक्तिको छनोट गरिने छ । अमेरिकी परराष्ट्र मन्त्रालयले इलेक्ट्रोनिक माध्यमबाट योग्य आवेदकको छनोट गर्ने र एक मुलुकबाट कुल संख्याको ७ प्रतिशतभन्दा बढी व्यक्ति नलैजाने बताएको छ ।

हालसम्म अमेरिकामा कम आप्रवासी रहेका मुलुकहरुबाट उसले डीभी मार्फत थप मानिसहरु लैजाने नीति लिएको छ । यसपाली डीभी भर्नेहरु सन् २०२१ मा अमेरिका जाने मौका पाउने छन् ।

अमेरिकी दूताबासले यसपालि पनि डीभी फाराम भर्न कन्सल्ट्यान्टको प्रयोग नगर्न र आवश्यक परे पारिवारिक सदस्यको मात्र सहयोग लिन आग्रह गरेको छ ।

फाराम भर्दा आफ्ना श्रीमान वा श्रीमती र २१ वर्षभन्दा मुनिका अविवाहित सदस्यको विवरण खुलाउनु पर्नेछ । त्यसबाहेकका अन्य पारिवारिक सदस्यलाई अमेरिका लैजान पाइने छैन । र त्यसरी राखिएका प्रविष्टीहरु पनि रद्द हुनेछन् ।

पोहोर डीभी भर्नेहरुले पुरानो फोटो प्रयोग गर्न पाउने छैनन् । फोटो नयाँ हुनुपर्नेछ भने टोपी लगाएर फोटो खिच्न पनि पाइने छैन ।

डीभीको नतिजा आगामी मे ७ तारिख वा त्यसपछि मात्र प्रकाशन गरिने छ ।

यो वर्षको डीभी विश्वभरका १७ मुलुकका नागरिकले भर्न पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here