भरतपुरबाट भारतीय वायुसेनाको जहाज बस दुर्घटनाका मृतकको शव लिएर उड्यो

काठमाडौं । बस दुर्घटनामा ज्यान गुमाएका २७ भारतीय पर्यटकको शव शनिबार भारत पठाइएको छ । भारतीय सेनाको जहाजले २५ वटा शव भरतपुर विमानस्थलबाट गोरखपुर लगेको छ । चालक र सहचालकको शव भने एम्बुलेन्सबाट पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

शुक्रबार पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बस तनहुँको आँबुखैरेनी गाउँपालिका ऐनापहराबाट मर्स्याङ्दी किनारमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

घाइतेको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । २७ जना मृतकको शव भने पोस्टमार्टमका लागि चितवनको भरतपुर अस्पताल पठाइएको थियो । शनिबार भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेले काठमाडौं आएर घाइतेहरुसँग भेट गरिन् ।

त्यसपछि भरतपुर गई शव जिम्मा लिएर भारत लिएर गएकी हुन् । बस चालक र सहचालकको घर भने नेपाली सीमाबाट नजिकै रहेकाले एम्बुलसेन्सबाट पठाइएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here