रामेछाप पहिरो : दुईको मृत्यु-८ बेपत्ता

काठमाडौं । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेखर्कमा पहिरोले बस्ती बगाउँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

अविरल वर्षापछि गयराति ११ः४५ बजेको समयमा गाउँभन्दा माथिबाट आएको पहिरोले लेखखर्कका ४ घर बगाउँदा हराएका ११ जनामध्ये दुई जनाको शव भेटिएको, एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको र ८ जना अझै हराइरहेकाले खोजी भइरहेको दोरम्बा सैलुङ गाउँपालिका–३ का वडा सदस्य तुल प्रसाद कँडेलले जानकारी दिए ।

उहाँका अनुसार अहिलेसम्म पहिरोले पुरिएका स्थानीय भिमबहादुर थापामगरको घरमा रहेका ३ जना मध्ये एक जनाको जीवितै उद्धार गरिएको छ । सो घरमा रहेका भिमबहादुरकी छोरी चण्डीका थापामगर र उनका नाबालक छोराको शव निकालिएको छ ।

चण्डीका स्थानीय एक आधारभूत विद्यालयका शिक्षिका हुन् । बेपत्ता भनिएका ८ जना मध्ये स्थानीय उर्मिला पहरीको घरमा रहेका ४ जना , काले पहरीको घरमा बसेका ३ जना र एक घरमा रहेकी एक महिलाको खोज कार्य जारी रहेको वडा सदस्य कँडेलले बताए ।

बाढीले दोरम्बा सैलुङ गाउँपालिकाको विभिन्न स्थानका तीन वटा पक्की पुल बगाएको छ । गाउँपालिकाको ढोही खोलाको पक्की पुल, घट्टे खोलाको पक्की पुल र छाङ खोलामा बनेका ह्युमपाइप बगाएको स्थानीयले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here