२०८१ को युवावर्ष मोती पुरस्कार बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठलाई

`
काठमाडौं, ९ भाद्र । बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठ यस वर्षको ‘युवावर्ष मोती पुरस्कार’बाट सम्मानित हुने भएका छन् । बालसाहित्य र रङ्गमञ्चमार्फत नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा श्रीवृद्धिका लागि योगदान पु¥याएवापत श्रेष्ठलाई पुरस्कृत गर्न लागिएको हो ।

वरिष्ठ साहित्यकार प्रा. रामकुमार पाँडेको संयोजकत्वमा राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्याङ्कन समितिको सिफारिसअनुसार वि.सं.२०८१ सालको पुरस्कार सर्जक केदार श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको हो ।

नेपाली साहित्यमा युवा पुस्तालाई प्रेरणा दिने महत्वपूर्ण पुरस्कार मानिने यस पुरस्कार राष्ट्रिय विभूति साहित्यकार मोतीराम भट्टको सम्झनामा विं.सं.२०४२ मा स्थापना भएको हो । ४० वर्ष ननाघेका युवा सर्जकलाई ४० हजार नगद, स्वर्ण पदक र प्रमाण पदकसहित पुरस्कार हरेक वर्ष मोती जयन्ती कुशे औंसीको दिन प्रदान गरिदैँ आएको छ ।

नियमित प्रदान गरिदैँ आएको ‘युवावर्ष मोती पुरस्कार’ सर्वप्रथम साहित्यकार दैवज्ञराज न्यौपानेलाई प्रदान गरिएको थियो भने अघिल्लो वर्ष २०८० मा कवि, गीतकार तथा अनुवादक प्रमोद सारंगलाई प्रदान गरिएको थियो ।

बालसाहित्य क्षेत्रमा कथा लेखन, कथा–कथन, बालनाटक/चलचित्र लेखन, निर्देशनमा सक्रिय श्रेष्ठ समकालिन कला–साहित्य क्षोनमा प्रतिवद्ध युवा रङ्गकर्मीको रुपमा परिचित छन् । उनका सिर्जना गुलियो स्याउ र आइसक्रिम सपना नेपाली बालसाहित्य क्षेत्रमा चर्चित छन् ।

रङ्गमञ्चमा नाटककार, कलाकार, परिकल्पनाकार तथा निर्देशकका रुपमा सक्रिय श्रेष्ठ थिएटर मल नाटकघर (स्था.वि.सं.२०७१) र थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल (स्था.वि.सं२०७०) का संस्थापक तथा कला निर्देशक पनि हुन् ।

व्यवसायिक रङ्गमञ्चमा उपियाँको निवन्ध, करेसा कन्सर्ट, मान भर्सेस मती, बदरङ्ग, भोको घर, जामुनको रुख उनलाई पहिचान दिलाउने नाटक हुन् । उनी पारिजातको शिरिषको फूलमा आधारित नाटकको परिकल्पनाकार समेत हुन् । राष्ट्रिय बालनाटक महोत्सव (स्था.वि.स.२०६६) को सुरुवाती संस्करणहरुको संयोजक उनी हाल ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०२५९’को संयोजक हुन् ।

बालवाङमय तथा अनुसन्धान केन्द्रका सचिव, बालरङ्मञ्चको अन्तर्राष्ट्रिय छाता संगठन आसितेजको नेपाल केन्द्र आसितेज नेपालका महासचिव, नेपाल बालसाहित्य समाजका आजीवन सदस्यको रुपमा पनि उनी सक्रिय छन् ।

उनी थुप्रै अन्तराष्ट्रिय पुरस्कार विजेता लघु चलचित्र ‘जुनुको जुत्ता’को निर्माता, निर्देशक हुन् । साथै, पछिल्लो समयमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कृत तथा चर्चा कमाएको कथानक चलचित्रहरु ‘ऐना झ्यालको पुतली’ र ‘गाउँ आएको बाटो’मा उनले कास्टिङ निर्देशकको भूमिका निर्वाह गरेका छन् ।

औपचारिक शिक्षमा पत्रकारिता र राजनीति शास्त्रका स्नातकोत्तर उनी नेपाली भाषा–साहित्यका स्नातक हुनुहुन्छ । पिता विष्णुकुमार श्रेष्ठ र माता लक्ष्मीदेवी श्रेष्ठबाट वि.स.२०४५ मा हालको ज्वालामुखी गाउँपालिकाको सुनखानीमा जन्मिएका केदार श्रेष्ठ नेतृत्वको नाटकघर थिएटर मल हाल कीर्तिपुरमा सञ्चालित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here