केपी ओलीविरूद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध काठमाडौंको टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

सोमबार टुँडिखेलमा गौरा पर्व अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गर्दै कार्यक्रम विथोल्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढालाई नियन्त्रणमा लिइएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारीलगायत उपस्थित थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंले दुई जनालाई सोधपुछको लागि नियन्त्रणमा लिएको बताएको छ ।