गौतमबुद्ध विमानस्थल अवलोकनमा पर्यटन मन्त्री, के भने ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएकोले लुम्बिनीलाई नै केन्द्रमा राखेर सञ्चालनको योजना बनिरहेको बताएका छन्।

अन्तर्राष्ट्रिय यात्रु ल्याउने प्रमुख माध्यम नै यही विमानस्थल बन्ने भएकोले विमानस्थलमा नियमित उडानका लागि मन्त्रालयका तर्फबाट पहलकदमी भइरहेको उनले बताए।

शुक्रबार भैरहवामा विमानस्थलको निरीक्षण गर्दै मन्त्री पाण्डेले विमानस्थल सञ्चालनसँगै भिसा अफिस, श्रम लगायतका अत्यावश्यक सेवाहरू भैरहवाबाटै सुरू गर्ने निर्णय गरेको बताए। मन्त्री भएपछि पहिलो पटक गौतमबुद्ध विमानस्थल आएका मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि सरकारले गरेका पछिल्ला निर्णय र कार्यान्वयनका सम्बन्धमा विमानस्थलको स्थलगत निरीक्षण गरेका हुन्।

निरीक्षणपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री पाण्डेले सरकारले निकै जिम्मेवारीपूर्वक भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि उत्साहपूर्वक कार्ययोजना बनाएर अगाडि बढेको बताए। उनले विमानस्थल सञ्चालनका लागि सरकारले सेवाशुल्कमा छुटसहित हवाई कम्पनीहरूलाई आकर्षित गराउन खोजिएको बताए।

निरीक्षणअघि विमानस्थलको अवस्थाका बारेमा गरिएको ब्रिफिङमा विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिए। मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि वातावरण बन्दै गएको बताउँदै अब यसलाई बुद्ध जन्मस्थल आएको अनुभूति दिने गरी सौन्दर्यकरण गर्न सुझाव दिए।

गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अन्तर्राष्ट्रिय उडानका लागि सबै तयारी पूरा भएको बताए। उनले गौतमबुद्ध विमानस्थल नेपालको पूर्वमा चितवनदेखि सुदूरपश्चिमसम्मका यात्रुका लागि उपयुक्त ठाउँमा रहेकाले यसबाट धेरैले लाभ लिन सक्ने बताए।

उनका अनुसार सन् २०२२ मा ३१ हजार यात्रुले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत गरेकोमा सन् २०२३ मा ४ हजार र सन् २०२४ को जुलाईसम्म ९२३ जनमले मात्रै उडान भरेका छन्। मन्त्री पाण्डे सहितको टोलीले टर्मिनल भवन, टावर, पार्किङ, विशिष्ट कक्ष, धावनमार्गको निरीक्षण गरेका थिए। विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिँदा निजी क्षेत्रको अर्बौं लगानी जोखिममा परेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here