पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक काश्य पदक

काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जित्न सफल भएकी छिन् । फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि तौलमा कांस्य जितिन् ।

कांस्य पदकको लागि भएको खेलमा पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गरिन् । नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बनिन् ।

नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारा ओलम्पिकमा सहभागिता जनाउन थालेको हो । त्यसअघि पहिलो रिपेचेजमा फ्रान्सकी सोफी काभरजानलाई २–१ ले पराजित गर्दै पलेशा कांस्य पदक नजिक पुगेकी थिइन् ।

पलेशाले आजै भएको पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१–० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनल पुगेकी थिइन् । क्वाटरफाइनलमा पलेशा विश्व नम्बर ब्राजिलियन खेलाडी सिल्भाना मायारा पर्नान्डेजसँग १०–८ ले पराजित भइन् ।

पलेशाले यसअघि २०२१ मा टोकियो पारा ओलम्पिकमा दुई बाउट जितेर पदक नजिक पुगेकी थिइन् । तर कांस्य पदक भिडन्तमा उनी चिनियाँ खेलाडीसँग पराजित भइन् । लगातार दोस्रो पटक पारा ओलम्पिक खेलेकी पलेशा यस पटक भने छनोट चरण पारा गरेर पारा ओलम्पिक पुगेकी हुन् ।

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।

यस्तै चीनको हान्झाउमा भएको चौथो एसियाली पारा खेलकुदमा पेलाशाले नेपाललाई ऐतिहासिक कांस्य पदक जिताएकी थिइन् । पलेशाले २०२१ मा बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन् ।

२०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपकी कांस्य विजेता २० वर्षीय पलेशाले जापानमा भएको टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here