बाँकेमा झाडापखालाबाट ज्यान गुमाएका चार जनामा पानीको कमी देखिएको पुष्टी

काठमाडौं । बाँकेको नरैनापुरमा एकै परिवारका तीनसहित चार जनाको मृत्यु झाडापखालाका कारण पानीको कमीले भएको पुष्टि भएको छ । नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँका श्यामलाल पासीको घरका तीन सदस्यसहित चार जनाको ७२ घण्टाको अवधिमा मृत्यु भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले एकै परिवारका एक बालकसहित चार जनाको झाडापखालाका कारण शरीरमा पानीको कमी भएकाले मृत्यु भएको पुष्टि भएको जानकारी दिए ।

यही भदौ १४ गतेदेखि गेग्ली गाउँका श्यामलाल पासीको घरका सदस्यहरु झाडापखालाबाट बिरामी परेका थिए । ७५ वर्षीया शान्ति पासी, उनकी २६ वर्षीया बुहारी उषा पासी र एक वर्षकी नाबालिका नन्दनीको क्रमशः भदौ १४, १५ र १६ गते मृत्यु भएको थियो । सोही गाउँका १० वर्षीय युसुफ अलीको पनि मृत्यु भएको थियो । उनीहरुमा सुरुमा ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्ने र एकदिनमा तीनदेखि चार पटकसम्म पातलो दिसा हुने गरेको थियो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र साहका अनुसार बिरामीहरुले सीमावर्ती भारतको क्लिनिकमा गएर उपचार गराएको र सोही क्रममा मृत्यु भएको थियो । मृत्यु भएपछि मात्रै जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी प्राप्त भएको उनको भनाइ छ । सो घटनाबारे स्वास्थ्य कार्यालयले अध्ययन गरेको थियो । सो अध्ययन प्रतिवेदनमा झाडापखाला भई शरीरमा पानीको मात्रा कमीका कारण उनीहरुको मृत्यु भएको उल्लेख छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख साहले मृतकका आफन्तले समयमा उपचार नगराएको कारण अकालमा ज्यान गएको बताए । ‘समयमै जाँच गरेको भए रोग पहिचान भएर उपचार हुन्थ्यो’, उनले भने, ‘चेतनाको कमीले गर्दा र परिवारका सदस्यको लापरवाहीले गर्दा अकालमा ज्यान गएको हो ।’

नरैनापुर गाउँपालिका ३ कालाफाँटामा पनि झाडापखालाका बिरामीहरु फेला परेका छन् । एक जनाको स्थानीयस्तरमा र एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । झाडापखालाका बिरामी भेटिएका गाउँमा स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्य जाँच गरिएको छ । स्थानीयलाई पानी शुद्धीकरणका लागि आवश्यक औषधि पनि वितरण गरिएको छ ।

– राससको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here