एनपीएलमा ८ टोली भिड्ने, कुन टीमको मूल्य कति ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी–२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टोलीको स्वामित्व लिने कम्पनीको नाम सार्वजनिक भएको छ।

टेन्डर प्रक्रियामा सहभागी भएका टोलीमध्येबाट टोलीको स्वामित्वका लागि बोली लगाइएको थियो। जसमा कान्तिपुर पब्लिकेसन प्रालिले टिम काठमाडौं ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रूपैयाँमा खरिद गरेको छ।

यस्तै नेपाल टी–२० क्रिकेट प्रालिले टिम पोखरा ३ करोड ५७ लाख रूपैयाँमा स्वामित्व लिएको छ। टिम चितवनलाई चितवन मेडिकल प्रालिले १ करोड ७६ लाख १ हजार रूपैयाँमा लिन सफल भएको छ। फर्चुना हेल्थकेयर प्रालिले टिम लुम्बिनी १ करोड ८६ लाख ४ रूपैयाँमा स्वामित्व ग्रहण गरेको छ।

यस्तै ड्रिम स्पोर्ट्स प्रालिले टिम जनकपुरलाई लिएको छ। जनकपुरका लागि २ करोड ५ लाख रूपैयाँ रकम दिइएको छ।

यस्तै एमएडी ड्रिम्स स्पोर्ट्सले टिम विराटनगर १ करोड ५१ लाख रूपैयाँमा लिएको छ। टिम कर्णालीका लागि हिमालयन बिल्डर्सले १ करोड ११ लाख रूपैयाँ लिर्ने भएको छ। टीम सुदूरपश्चिमलाई इम्पायर स्पोर्ट्सले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रूपैयाँमा खरिद गरेको छ।

एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। क्यानको महत्वाकांक्षी परियोजनाको रुपमा प्रतियोगिता आफैँ आयोजना गर्न लागेको हो।

यसअघि क्यानले दुई वर्षअघि नेपाल टी(२० लिग नाममा भारतीय कम्पनीलाई आयोजनाको अधिकार बेचेको थियो। तर सो लिग विवादित बन्नुका साथै म्याच फिक्सिङको समेत आशंका भएको थियो। अब क्यानले लिगको टोली घोषणा गरेसँगै खेलाडी आबद्ध गर्ने प्रकिया अघि बढाउनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here