नोटबन्दीले नेपालमा पारेको समस्या समाधान गर्ने भारतीय वित्तमन्त्री सितारमणको आश्वासन

काठमाडौं, १७ असोज । भारतीय वित्त मन्त्री निर्मला सितारमणले भारतीय रुपैयाँको नोटबन्दीले नेपालमा पारेको समस्याको समाधान गर्ने आश्वासन दिएकी छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडासँग शुक्रवार भएको भेटमा उनले भारु नोटको बन्देजले नेपालमा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गर्ने बताएको अर्थमन्त्रीका प्रेस संयोजक यमन पौडेलले बताए ।

भारतीय सहयोगमा सञ्चालित आयोजनामा सिर्जना भएका समस्याको पनि चाँडो समाधान खोजिने सितारमणले बताएकी छन् ।

भारतमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली पुगेका अर्थमन्त्री डा. खतिवडाले सितारमणसँग भारतको वित्त मन्त्रालयमा शिष्टाचार भेट गरेका हु् ।

अर्थमन्त्री डा. खतिवडाले भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयन अवस्था, भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले उपलब्ध गराउने
सहुलियतपूर्ण ऋणलाई पूर्वाधार क्षेत्रमा समेत उपयोग गर्ने गरी तय गरिएका आयोजनाहरुको विषयमा जानकारी गराएका थिए ।

नेपाल इन्फ्रास्टकचर बैंक लिमिटेडमा भारतीय लगानीकर्ताबाट समेत इक्विटीमा लगानी गर्नका लागि प्रकृया अघि वढेको जानकारी दिंदै सो कार्यमा आवश्यक सहयोग गर्न उनले आग्रह गरेका छन् ।

अर्थमन्त्री डा. खतिवडाले भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनु भन्दा पहिले नेपालमा मौज्दात भारु ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहल गर्न अनुरोध गरे ।

साथै, भारतबाट नेपालतर्फ जाने व्यक्तिहरुले आपूmसँग लैजान पाउने ठूला दरका भारु नोटहरु फर्काउने सम्बन्धमा द्धिविधा भएकाले त्यसलाई स्पष्ट हुने गरी आवश्यक सूचना जारी गरिदिन पनि उनले अनुरोध गरे ।

अर्थमन्त्री डा. खतिवडाले पछिल्लो आर्थिक स्थिति, लगानीको वातावरण तथा राजस्वका क्षेत्रमा भएका सुधारका प्रयास, द्विपक्षीय व्यापार, वाणिज्य सन्धि लगायतका विषयमा समेत छलफल गरेका छन् ।

भेटमा नेपाली राजदुतावास नयाँ दिल्लीका नियोग उपप्रमुख भरत रेग्मी र अर्थ मन्त्रालयका उपसचिव रमेश अर्यालको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here