पश्चिमी नेपालमा आज भारी वर्षा, सतर्क रहन आह्वान

काठमाडौं । लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका जिल्लाहरुमा गएरातिदेखि वर्षा भइरहेको छ । ती क्षेत्रमा आज २९ गते बिहानसम्म वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गरी पश्चिमी भूभागमा भदौ २७ गते साँझदेखि २९ गते बिहानसम्म भारीदेखि धेरै भारीसम्म वर्षा हुने जानकारी दिएको थियो । बुधबार रातिदेखि नै मनसुन सक्रिय हुँदा पाल्पा, दाङ, बाँके, बर्दिया, कैलाली, डडेलधुरा, कञ्चनपुर लगायतका जिल्लाहरुमा बढी वर्षा भएको देखिन्छ ।

वर्षाको मात्रा अझै बढ्ने सम्भावना छ । खासगरी बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी र अछाम जिल्लामा अत्यधिक वर्षाको सम्भावना छ । त्यसैले ती जिल्लाहरुलाई मौसम पूर्वानुमान महाशाखाले उच्च जोखिमको सूचीमा राखेको छ । भारतको मध्यप्रदेश आसपासमा अवस्थित मनसुनको न्यून चापीय प्रणाली थप विकसित भई उत्तरपश्चिमतिर अर्थात् नेपाल नजिक सर्ने सम्भावना छ ।

त्यसको प्रभावले नेपालको पश्चिमी भूभागमा बढी वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ८ जिल्लालाई उच्च जोखिमको सूचीमा राखे पनि मधेशदेखि सुदूरपश्चिमसम्मका १९ जिल्लामा मध्यम जोखिमको सम्भावना छ ।

खासगरी बारा, पर्सा, चितवन, नवलपरासी पूर्व, स्याङ्जा, तनहुँ, अर्घाखाँची, तनहुँ, अर्घाखाँची, रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी पश्चिम, दाङ, बाँके, दैलेख, कालिकोट, सल्यान, दार्चुला, बझाङ र बाजुरा जिल्ला मध्यम जोखिममा रहेको महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।

बाँकी ३३ जिल्लालाई महाशाखाले निम्न जोखिमको सूचीमा राखेको छ । काठमाडौं उपत्यका र हिमाली क्षेत्रसहितका अन्य १७ जिल्लाबारे भने महाशाखाको विशेष बुलेटिनमा केही उल्लेख छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here