दशैँको छुट्टीमा पनि रेडक्रसको आपतकालीन सेवा, निःशुल्क हटलाईन निरन्तर रहने

काठमाडौं, १७ असोज । नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित विभिन्न सेवाहरु दशैँको लामो छुट्टीमा पनि निरन्तर रहने छन् ।

यस बीचमा कुनै विपद्का घटनाहरु आइपरेमा केन्द्रीयस्तरमा विपद् व्यवस्थापन विभागका उपनिर्देशक हरिमोहन श्रेष्ठको संयोजकत्वमा रहेको टोली सक्रिय रहने छ । सो स्ट्यान्डबाई टोलीमा रमेश घिमिरे, अनिल महर्जन, निमराज राउत, राजेन्द्र रोकाहा र सविता सिं छन् ।

केन्द्रीय कार्यालयमा रहेको रक्तसञ्चार सेवा पनि सुचारु हुनेछ । दैनिक छ जनाले ड्यूटी गर्ने व्यवस्था मिलाइएको छ भने १ हजार २ सय यूनिट रगत स्टकमा राखिएको छ । दशैँ छुट्टीका लागि यो स्टक पर्याप्त हुने रेडक्रसको भनाइ छ ।

शनिबारबाहेक हरेक दिन विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुँदै आएको नेपाल रेडक्रसको निःशुल्क हटलाइन सेवा ११३० विजया दशमीका महाअष्टमी देखि एकादशी (असोज १९ गते देखि २२ गते सम्म) नेपाल टेलिकमका ग्राहकको लागि बन्द रहनेछ । तर एनसेलबाट आउने कलहरुका लागि भने यो सेवा विदाका ती दिनहरुमा पनि नियमित रहने छ ।

दशैँको लामो छुट्टीमा पनि रेडक्रसका सेवा तथा गतिविधिबारे टिप्पणी, सुझाव, गुनासो वा प्रश्नहरु भएमा हटलाइन ११३० मा एनसेलका मोबाइल फोनबाट निशुल्क फोन गर्न र सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here