काठमाडौं । आम आदमी पार्टीकी नेता आतिशी मार्लेना दिल्लीकी नयाँ मुख्यमन्त्री बनेकी छन् । उनले शनिबार नै उपराज्यपाल भीके सक्सेनासामू पद तथा गोपनीयताको शपथ लिएकी हुन् । ४३ वर्षीया आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री हुन् ।
यसअघि भारतीय जनता पार्टी ९बीजेपी० की सुश्मा स्वराज र कांग्रेसकी शिला दीक्षित मुख्यमन्त्री भएकी थिइन् । स्वराज जम्मा ५२ दिन मुख्यमन्त्री रहिन् भने शिला तीन पटक गरी १५ वर्षभन्दा बढी दिल्लीमा शासन गरिन् ।
आतिशीको कार्यकाल चार महिना हुनेछ । किनकी फेब्रुअरी २०२५ मा विधानसभा चुनाव हुनेछ । आम आदमी पार्टीले केजरीवाललाई नयाँ मुख्यमन्त्रीका रुपमा अघि सारिसकेको छ । उनी २०१३ देखि (राष्ट्रपति शासन लागू भएको समय बाहेक) दिल्लीको मूख्यमन्त्री थिए ।
तर पछिल्लो पटक मदिरासम्बन्धी नीति बनाउने क्रममा भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरे । करिव ६ महिना हिरासतमा रहेका अरविन्द केजरीवाल अदालतको आदेशमा छुटे ।
तर तिहाड जेलबाट छुटेको दुई दिनपछि उनले आफूमाथि झुटो आरोप लागकोले जनताको परीक्षामा जाने भन्दै राजीनामा दिने घोषणा गरे । मंगलबार आम आदमी पार्टीको विधायक मण्डलको बैठक राखेर आतिशीलाई दल नेता चुने ।
त्यही दिन केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिए भने आतिशीले आफ्नो नेतृत्वमा सरकार गठनका लागि दाबी पेश गरिन् । शनिबार शपथ लिएकी मुख्यमन्त्री आतिशीले मन्त्रिपरिषद् पनि गठन गरेकी छन् ।
कैलाश गेहलोत, गोपाल राय, शौरभ भारद्धाज, इमरान हुसेन र मुकेश अहलावतले मन्त्री बनेका छन् । मुकेश नयाँ अनुहार हुन्, अरु चाहिँ केजरीवाल क्याबिनेटमा थिए ।