गंगालाल हृदय केन्द्रले थप ६ प्रदेशमा मुटु रोग उपचार बिस्तार गर्ने

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सेवा सबै प्रदेशमा पुर्‍याउने बताएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत् बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा बिस्तार गर्ने निर्णय गरेको हो।

बैठकले मन्त्रालयको योजनाअनुसार मुटु रोग उपचार सेवा बिस्तार गर्ने निर्णय गर्दै यसका लागि काम अघि बढाउने घोषणा गरेको हो। यससँगै अब मन्त्रालयसँगको समन्वयमा केन्द्रले थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाउनेछ।

बैठकमा मन्त्री पौडेलले मन्त्रालयले सबै प्रदेशमा प्रादेशिक अस्पतालहरूमार्फत विशिष्टिकृत उपचार बिस्तार गर्ने योजनाअन्तर्गत क्यान्सर उपचार सुरू भइसकेको भन्दै मुटु रोगको उपचारसमेत बिस्तारको निर्णय गर्न प्रस्ताव गरेका थिए।

मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा विशिष्टिकृत उपचार सेवा प्रादेशिक अस्पतालहरू मार्फत बिस्तार गर्ने घोषणा गरेका थिए।

मन्त्रालयले हालै मात्र अर्थको स्वीकृतिपछि जलन उपचार सेवासमेत सबै प्रदेशमा आफ्नै स्रोतमा निःशुल्क रूपमा सञ्चालन गर्ने तयारी अघि बढाएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here