काठमाडौंसहित यी स्थानमा सडक अझै अवरुद्ध

फाइलफोटो

काठमाडौं । अविरल वर्षासँगै बाढीपहिरोले देशका विभिन्न सडक अझै अवरुद्ध छ । काठमाडौंसहितका केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको नेपाली प्रहरीले जनाएको छ ।

बिहान ८ बजेसम्मको अपडेट अनुसार ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी आज पनि चल्न सकेका छैनन् । पुल नजिकै सडक भासिएका कारण सवारी आवागमन बन्द भएको हो ।

काठमाडौंको दक्षिणकाली नगरपालिका–८ स्थित सिस्नेरी सडकखण्डमा पहिरोका कारण बाटो अवरुद्ध छ । ललितपुरको गोदावरी नगरपालिका–६ स्थित लेले, टीकाभैरव जाने बाटो पहिरोका कारण अवरुद्ध छ । पहिरोको कारण बीपी राजमार्ग, फर्पिङ र कान्तिलोकपथ हुँदै उपत्यका भित्रने र बाहिरिने सवारीसाधन पनि चल्न सकेका छैनन् ।

काभ्रेपलाञ्चोकका विभिन्न स्थानहमा रोशीखोलाले सडक कटान गरेका कारण बीपी राजमार्ग केही दिनअघिदेखि पूर्ण रूपमा अवरुद्ध छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका–२ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गमा आवागमन अवरुद्ध छ ।

रामेछापको मन्थली नगरपालिका–६ स्थित सुनकोसी नदीको पुल र खाडादेवी गाउँपालिका–१ को खैरेनी पुल बगाउँदा खुर्कोट–मन्थली र सिन्धुली, नेपालथोक–मन्थली चल्ने सवारीसाधनको आवागमन पनि पूर्ण रूपमा रोकिएको छ ।

सगरमाथा राजमार्गअन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका–५ र खोटाङको खोटेहाङ गाउँपालिका–११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको छ ।

मेची राजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोडने हेवाखोलामाथिको बेलीब्रिज बाढीले बगाउँदा आवतजावत रोकिएको छ ।

ट्राफिकको तथ्यांक अनुसार गत २४ घण्टामा विभिन्न नाकाहरु हुँदै १० हजार ३७० सवारी साधनमा ५२ हजार २५४ जना यात्रुहरू काठमाडौं उपत्यका भित्रिएका छन् भने ११ हजार २२१ सवारी साधनमा ६१ हजार २८५ जना यात्रुहरू बाहिरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here