नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता,सूचना प्रविधि, औषधि उद्योगलगायतमा रुची

काठमाडौं । श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रुची देखिएको छ । यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन,’ कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले भने । हामी थप लगानीकर्ताहरुलाई पनि प्रोत्साहित गर्नेछौ ।’

नेपाल कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्षस्तरिय वैठकमा अध्यक्ष थानी र महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकाल एवं प्रतिनिधिमण्डलबीच बुधबार कतारको राजधानी दोहामा सम्पन्न वैठकमा आर्थिक सम्बन्ध विस्तारका बिषयमा छलफल भएको हो ।

कतारका अमीर सेख तमीम बिन हमाद अल थानीको गत अप्रिल २३ र २४ मा सम्पन्न नेपाल भ्रमणका क्रममा महासंघ र कतार चेम्बरबीच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो ।

काउन्सिलको यस पहिलो अध्यक्षस्तरिय वैठकमा अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आआफ्नो नेतृत्वमा सदस्य नियुक्त गरी काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति पनि भएको छ । त्यस लगत्तै नेपालमा कतार नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव अध्यक्ष ढकालले राखे । आगामी वर्ष उक्त कार्यक्रम आयोजना गर्ने सहमति पनि वैठकमा भयो ।

वैठकमा अध्यक्ष ढकालले नेपालमा वाह्य क्षेत्र स्थायित्व रहेको र कानुनहरुमा गरिएको सुधारले लगानीको अवसर जुट्दै गएको बताए । साथै उले कतारका लगानीकर्ताहरुलाई नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, सीप बिकास लगायतका क्षेत्रमा पर्याप्त सम्भावना रहेकोले लगानीका लागि आव्हान गरे । यसैगरि, कतार सरकारले आयोजना गरेको एसियन कोअपरेसन डायलगमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले सहभागिता पनि जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here