सकियो कृषि तथा घरेलु उद्यमी मेला, एमसीएसईको प्रवद्र्धन गर्नुपर्नेमा व्यवसायीको जोड

`
काठमाडौँ । देशको अर्थतन्त्रलाई आत्मनिभर अर्थतन्त्रमा रुपान्तरण गर्नका लागि घरेलु तथा साना उद्योग (एमसीएसई)को ठूलो भूमिका हुने भन्दै सरोकारवालाहरुले यस्ता उद्योगहरुको प्रवद्र्धन र विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

राजधानीको राष्ट्रिय सभागृह परिसरमा चलिरहेको दोस्रो जिल्लास्तरीय उद्योगी मेला र दशैं महोत्सव २०८१ को समापन समारोहमा बोल्दै व्यवसायीहरुले रोजगारी र स्थानीय अर्थतन्त्रको प्रवद्र्धनमा एमसीएसईको महत्वपूर्ण भूमिका रहेकोले यसमा सरकारको बढी ध्यान जानुपर्ने बताए ।

घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाले संयुक्त आयोजना गरेको मेला गत बुधबारदेखि शुरु भएको थियो । मेलाको समापन समारोहमा बोल्दै घरेलु तथा साना उद्योग संघ काठमाडौंकी अध्यक्ष पद्म कुमारी कार्कीले अर्थतन्त्रको खम्बाका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योहरुको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिंदै स्थानीयस्तरमा रहेका साना उद्यमीहरुको मनोबल बढाउनुपर्ने आवश्यकता रहेको बताइन् ।

घरेलु तथा साना उद्यमीद्धारा उत्पादन गरिएका वस्तुहरुलाई प्रवद्र्धनका साथै बजारीकरण गरी स्वदेशी उद्योगद्धारा उत्पादित वस्तुहरुको उपभोगमा बृद्धि गरी बेरोजगारीलाई केही हदसम्म कमी ल्याउने प्रदर्शनीको उद्देश्य रहेको थियो ।

काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा उद्यमशीलता तालिम लिएर उद्यमी भन्ने यात्रामा लागेका उद्यमीहरुले कसरी गुणस्तरीय उत्पादन गर्ने, कसरी कजारीकरण गर्ने, ब्राण्डिङ गर्ने विषयमा अनुभव आदान प्रदान गर्नका लागि प्लेटफर्मका रुपमा मेला आयोजना गरिएको कार्कीले बताईन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले लघु, घरेलु तथा साना उद्योग नै अर्थतन्त्रको आधार भएको यस्ता उद्योगहरुको प्रवद्र्धनका लागि महानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाले १५ वटा वडामा ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’ सुरु गरेको जानकारी दिंदै बाँकी १७ वटा वडामा पनि छिट्टै शुरु गरिन लागेको जानकारी दिंदै उनले लघु, घरेलु तथा साना उद्योगीहरुको प्रवद्र्धनका लागि सरोकारवालासँग छलफल र सहकार्यबाट अगाडि बढ्ने बताए ।

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बीसीले एमसीएसईको प्रवद्र्धन र विकासमा राज्यले नीतिगत रुपमा धेरै कुराको व्यवस्था गरेपनि व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको बताए । देशको अर्थतन्त्रलाई आत्मनिभर अर्थतन्त्रमा रुपान्तरण गर्नका लागि घरेलु तथा साना उद्योगहरुको ठूलो भूमिका हुने भएपनि यसका लागि धेरै काम हुन नसकेको पनि उनको भनाइ थियो । नेपाली रैथाने उत्पादनलाई नेपालीहरुले प्रयोग गर्ने गरी आन्तरिक बजारमा स्थापित हुन नसक्दासम्म हाम्रो अर्थतन्त्र पनि दिगो हुन सक्दैन, उनले भने ।

प्रदर्शनीमा स्थानीय खानाका परिकार, अल्लो, ढाका र गार्मेन्टका मौलिक उत्पादन, अचार, छोप, मह, कृष्टलका गहना, ओखलमा प्रत्यक्ष कुटेका च्युरालगायतमा अवलोकनकर्ताहरुको आकर्षण देखिएको थियो । त्यसैगरी सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णाली तथा हिमाली क्षेत्रका मौलिक परिकार तथा अन्य उत्पादन, नेपाली जुत्ता पनि उपभोक्ताहरुले मन पराएका थिए ।

घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्र कुमार श्रेष्ठका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरुको सहभागितामा आयोजना गरिएको औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरुको सहभागिता रहेको थियो ।

प्रदर्शनीमा काठमाडौं जिल्लाका चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, उद्योग तथा वाणिज्य कार्यालय काठमाडौंको सहकार्य र सहआयोजना रहेको थियो । प्रदर्शनीमा ७० वटा स्टल रहेका थिए ।

सम्बन्धित समाचारः
दुग्ध तथा उखुको उधारो तिर्न अर्थले गर्यो २ अर्ब निकासा
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here