विदेशी मुद्रा सञ्चिति २१ खर्ब ५२ अर्ब पुग्यो

काठमाडौं । विदेशी विनिमय सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो ५.५ प्रतिशतले बढेको हो ।

गत असारसम्म मुलुकको विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेकाे थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ५ प्रतिशतले बढेर १६ अर्ब ४ करोड पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ४.४ प्रतिशतले वृद्धि भई १९ खर्ब २८ अर्ब ९९ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु.१९२ अर्ब ५५ करोड रहेकोमा २०८१ भदौ मसान्तमा १६.१ प्रतिशतले वद्धि भई रु.२२३ अर्ब ५३ करोड कायम भएको छ । २०८१ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here