फर्किए सि, बिदाइमा बिमानस्थल पुगिन राष्ट्रपति भण्डारी

काठमाडौं, २६ असोज । दुई दिने औपचारिक भ्रमणमा शनिवार साँझ नेपाल आएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सि जिनपिङ आइतवार दिउँसो बेइजिङ फर्किएका छन् ।

उनी आइतवार दिउसो सवा २ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एयर चाइनाको बिमानमा चीन फर्किएका हुन् । उनलाई बिदाई गर्न राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थल पुगेकी थिइन ।

उनको साथमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले सिको बिदाइ गरेका हुन् ।

आइतवार बिहान राष्ट्रपति सिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए जसमा २० बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आजै उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेका थिए ।

भारतको चेन्नइमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको अनौपचारिक शिखर बैठक सम्पन्न गरेर सि शनिवार साँझ पौने ६ बजे काठमाडौं आइपुगेका थिए ।

उनलाई राष्ट्रपति भण्डारी, प्रम ओली, अध्यक्ष तिमिल्सिना, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु र उच्च सरकारी अधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । नेपाली सेनाको एक टुकडीले सिको सम्मानमा गार्ड अफ अनर दिएको थियो । शुक्रवार साँझ उनले राष्ट्रपति भण्डारीसँग द्विपक्षिय वार्ता गरेका थिए भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबासँग पनि भेटवार्ता गरेका थिए ।

राष्ट्रपति भण्डारीले समकक्षी सिसँगको भेटमा नेपालको एक चीन नीतिबारे पुन स्मरण गराएकी थिइन भने रेलमार्ग, सडक, सूचनाप्रविधि, कृषिको आधुनिकीकरण र व्यापार नेपालको प्राथमिकताको क्षेत्र भएको पनि बताएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here