एएफसी यु-१७ छनोट : नेपालको लगातार दोस्रो हार

काठमाडौं । एएफसी यु–१७ एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार व्यहोरेको छ । समूह एफ अन्तर्गत भएको आफ्नो दोस्रो खेलमा नेपाल कतारसँग ५(० ले पराजित भएको हो ।

दोहास्थित एस्पाइर एकेडेमी पिच मैदानमा भएको खेलमा कतारका लागि जेद फैसलले ह्याट्रिक गरे । उनले ४५औं, ५६औं र ८२औं मिनेटमा गोल गरे । हानी मोहमेदले २१औं र अल मार्जोउकीले ८६औं मिनेटमा गोल गरे ।

समूहमा लगातार दोस्रो हार व्यहोरेपछि नेपालको अन्तिम चरणमा पुग्ने सम्भावना पनि सकिएको छ । यसअघि पहिलो खेलमा नेपाल साविक विजेता जापानसँग ९–२ ले पराजित भएको थियो ।

उता पहिलो खेलेमा मंगोलियाविरुद्ध २–० को कठिन जित निकालेको घरेलु टोली कतारले नेपालमाथि सहज जित निकालेपछि अन्तिम चरण पुग्ने सम्भावना बलियो बनाएको छ । अर्को खेलमा जापानले मंगोलियालाई ७–० ले हरायो ।

जापान र कतारले लगातार दुई खेल जितेर समान ६ अंक जोडेका छन् । गोल अन्तरका कारणमा जापान शीर्ष र कतार दोस्रो स्थानमा छ । अब यी दुई टोलीबीच आइतबार हुने खेलबाट समूह विजताको टुङ्गो लाग्नेछ । यस्तै लगातार दुई खेल हार्दै अंकविहीन रहेको नेपाल र मंगोलियाबीच आइतबारै प्रतिष्ठाका लागि खेल हुनेछ ।

छनोट प्रतियोगिता एएफसीका ४४ सदस्य राष्ट्रका युवा टोली सहभागी छन् । सहभागि ४४ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर खेलाइएको छ । छनोट चरणका खेलपछि हरेक समूहको विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु–१७ एसियन कपका लागि छनोट हुनेछ ।

यस्तै उपविजेता १० मध्ये उत्कृष्ट ५ उपविजेता टिमले पनि यू१७ एसियन कपका स्थान बनाउनेछन् । आयोजकको हैसियतमा साउदी अरेबिया स्वतः छनोट भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here