नेपालगन्ज उपमहानगरपालिकाले सुरु गर्यो प्लाष्टिकको प्रयोग निषेध अभियान

काठमाडौं, २७ असोज । नेपालगन्ज उपमहानगरपालिकाले नगर क्षेत्रलाई प्लाष्टिकमुक्त शहर बनाउने अभियान सञ्चालन गरेको छ । उपमहानगरपालिकाको यो अभियानमा सहयोग गर्ने भनी राजनीतिक दलहरुले पनि लिखित प्रतिबद्धतामा जनाएका छन् ।

अभियानअन्तर्गत उपमहानगरपालिकाले प्लाष्टिकजन्य फोहरले गरेको असर र अबको निकासका लागि ‘ऐनाफोटो प्रदर्शनी’, विभिन्न सूचना, शिक्षा तथा सन्दर्भ सामग्रीहरु तयार गरेर नगरका चोकचोकमा झुण्ड्याएको छ ।

गैरसरकारी संस्थाहरुसँग सहकार्य गरेर विकल्पका रुपमा कपडाका कागजका झोला र बोराहरु उत्पादन गरेर वितरण पनि गरिएको छ ।

उपमहानगरपालिकाले प्लाष्टिकजन्य प्रयोगलाई न्यूनीकरण गर्दै निषेध गर्नेसम्मको तयारी गरिरहेकोे जनाए पनि गत वर्षदेखि लागू गरेको फोहरमैला व्यवस्थापन ऐनले प्लाष्टिकजन्य फोहरलाई भने समेट्न सकेको छैन ।

यो नै अद्यावधिक गर्नुपर्ने अवस्था एकातिर छ भने अर्कोतर्फ यस वर्षको कार्यक्रम र बजेटमा पनि फोहारमैला व्यवस्थापनको दीर्घकालीन योजना बनाउने विषय समेटिएको छैन ।

‘नमिलेको विषयवस्तु हामी मिलाउँछौँ, ऐन नियम बनाउनेदेखि संशोधन गर्ने, बजेट विनियोजन गर्नेलगायतका सबै कुरा अभियानको कार्यक्रमभित्र समेटिने छ’, नगरप्रमुख डा धवलशम्शेर राणाको भने ।

अभियानको कार्यक्रमअन्तर्गत अहिले विभिन्न सङ्घसंस्थाले प्लाष्टिकजन्य फोहर सङ्कलन पनि गरिरहेका छन् तर प्लाष्टिकजन्य पदार्थलाई छुट्याएर राख्ने भने गरिएको छैन ।

उपमहानगरपालिकाले विशेषगरी पोलीथिन प्रयोग नियन्त्रणको पहल गरिरहेको छ । कपडा र कागजको झोला प्रयोगलाई प्रोत्साहन गरिरहेको छ । प्लाष्टिकजन्य प्रदूषण रोक्न सरकारी निकायको पहलले मात्र सम्भव छैन ।

‘प्लाष्टिक नियन्त्रणका लागि स्थानीय तहले पनि थप अग्रसरता देखाउनुपर्छ’, नगर प्रमुख राणाको थप भनाइ छ, ‘वातावरण मैत्री व्यवसायका लागि उपमहानगरपालिकाले सहयोगसमेत गर्दै आएको छ ।’

प्लाष्टिकजन्य फोहर व्यवस्थापनका अभियन्ता हरि सुवेदीले प्लाष्टिकजन्य फोहर व्यवस्थापनका लागि तयार गरिएको उपमहानगरपालिको वार्षिक र त्रिवर्षीय योजनालाई कार्यान्वयन गर्नतर्फ केन्द्रित हुनुपर्ने बताए ।

‘योजनालाई प्रभावकारी कार्यान्वयनतर्फ लैजान जरुरी छ । यसका लागि उपमहानगरपालिका स्वयंले अगुवाइ गरेर सरोकारवाला पक्षबीच थप समन्वय र सहकार्य गर्नुुपर्दछ । अनि मात्र प्लाष्टिकजन्य फोहरमुक्त समाज निर्माण गर्न सक्छौँ’, उनले भने । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here