विश्वकप क्रिकेट लिग २ : आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं । लगातारको हारले दवावमा रहेका नेपाल र अमेरिका जित्नै पर्ने महत्वपूर्ण सिरिज खेलिरहेका छन् । अमेरिकाविरुद्ध आइतबार डालासमा उत्रिँदा नेपाल विश्वकप क्रिकेट लिग २ मा थप दवावमा हुनेछ ।

यी दुई टोलीको खेल आज नेपाली समय अनुसार राती सवा ९ बजे सुरु हुँदैछ । नेपालले पछिल्लो दिनमा जित निकाल्न संघर्ष गरिरहेको छ ।

८ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल अंकतालिकाको सातौं स्थानमा छ । नेपालले लिग २ का दुई शृंखलामा खेलेका ८ खेलमा केवल एक जितमात्र निकालेको छ । ६ खेलमा पराजित भएको छ । ओमानसँग क्यानडामा खेलिएको खेल वर्षाले रद्द भएको थियो ।

क्यानडामा नेपालले क्यानडा र ओमानसँग २–२ खेलमा बटुलेको त्यही १ अंक थियो । त्यसअघि नेपालले फेब्रुअरीमा घरेलु मैदानमा भएको नेदरल्यान्ड्स र नामिबियासँगको २–२ खेलमा एकमात्र विजय हात पारेको थियो ।

तर, नेपालले अघिल्लो साता अमेरिकाविरुद्ध डालासमै भएको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–० ले ‘क्लिन स्विप’ गरेको छ । यही नतिजामा उच्च मनोबल लिएर नेपाल आइतबार अमेरिकाविरुद्ध लिग २ को खेलमा उत्रने छ ।

नेपाल, अमेरिका र स्कटल्यान्डबीचको लिग २ को यो शृंखला शुक्रबार नै सुरु भइसकेको छ । स्कटल्यान्डले शुक्रबार अमेरिकालाई १० विकेटले हराएको थियो । ३९ रन बनाउँदा ६ विकेट गुमाएको अमेरिका १ सय ४४ रन बनाई ३९ औं ओभरमा अलआउट भयो ।

एन्ड्रयु उमिदले ७९ बलमा ९८ र चार्ली टियरले ७० बलमा ४३ रन बनाएपछि स्कटल्यान्डले २५ ओभरभित्रै लक्ष्य पूरा गरेको थियो । दबाबमा रहेको अमेरिकाले उपकप्तान एरोन जोन्सलाई शृंखलामा बाहिर राखेपछि घरेलु टोलीमाथि झनै दबाब बढ्दै गएको छ ।

नेपालले शनिबार १५ सदस्यीय टोली घोषणा गरेको छ । एकदिवसीयमा कमजोर प्रदर्शन गर्दै आएको नेपालले यो संरचनाका विशेषज्ञ ब्याटर देव खनाललाई रिजर्भमा राखेको छ । देवसँगै सागर ढकाल पनि रिजर्भमा छन् ।

रोहित पौडेलेको कप्तानीमा रहेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।

नेपाल र अमेरिकाबीच भएको पछिल्ला ५ एकदिवसीय अन्तर्राष्ट्रियमा दुवै टोलीले २–२ खेल जितेका छन् भने एक खेल ‘टाइ’ भएको थियो । सन् २०२२ मा लिग २ का लागि अमेरिका जाँदा नेपालले अमेरिका र ओमानविरुद्धका ४ खेलमा २ खेलमा पराजित हुँदै १ खेल जितेको थियो भने १ खेल ‘टाइ’ भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here