एनआरएन विश्व सम्मेलन असोज २८ गतेबाट काठमाडौंमा, नयाँ नेतृत्व पनि चयन हुने

काठमाडौं, २७ असोज । नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन असोज २८ गतेबाट ३० गतेसम्म काठमाडौंमा आयोजना गरिने भएको छ ।

यस वर्षको विश्व सम्मेलन पनि विगतमा झैं नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुन गइरहेको संघले बताएको छ ।

सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् भने समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।

उक्त सम्मेलन आयोजनाका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समितिको गठन भएको छ जसमा नेपाल सरकारका प्रतिनिधिहरु र सरोकारवाला संघसंस्थाका अध्यक्षहरू रहेका छन् ।

सन् २००३ देखि २०१९ सम्म आइपुग्दा एनआरएन अभियान विश्वका ८० भन्दा बढी मुलुकमा विस्तार भएको एनआरएनएले बताएको छ ।

सम्मेलनमा नेपाल सरकार, राजनीतिक दल, उद्यमी व्यवसायीहरू, मुलुकको उद्योग व्यवसाय र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नागरिक समाज, समाजसेवी र सञ्चारकर्मीहरुको सहभागिता रहने पनि उसले जानकारी दिएको छ ।

सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी विदेशी सहभागीहरु गरी करिव २ हजार ५ सयको सहभागिता रहने छ । यस वर्ष संघको नयां नेतृत्व समेत चयन हुँदैछ ।

सम्मेलन काठमाडौको होटेल हायात रिजेन्सीमा आयोजना गरिने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here