७२ दिनपछि काश्मिरमा मोबाइल सेवा शुरु

तस्वीर स्रोतः ढाका टिर्ब्युन

भारत शासित काश्मिरमा ७२ दिनसम्म बन्द रहेको मोबाइल सेवा सुचारु गरिएको छ ।

भारतको केन्द्र सरकारले गत अगस्त ५ तारिखका दिन संविधान संशोधन गरी काश्मिरको आंशिक स्वायत्तताको अन्त्य गरेसँगै मोबाइल फोन, ल्याण्डलाइन टेलिफोन र इण्टरनेट सेवा पूर्णरुपमा बन्द गरिदिएको थियो ।

सरकारले मोबाइल सेवा पुनः सञ्चालन गरेसँगै करीब ४० लाख फोन सञ्चालनमा आएको एजेन्सीहरुले बताएका छन् ।

यद्यपि इण्टरनेट सेवा भने अझै पनि बन्द नै राखिएको छ । अधिकारीहरुका अनुसार करीब ८० प्रतिशत ल्याण्डलाइन टेलिफोन गत महिनादेखि नै सञ्चालनमा आएका थिए । तर, धेरै मानिसहरुसँग ल्याण्डलाइन टेलिफोन सुविधा छैन ।

काश्मिरबाहिर रहेका व्यक्तिहरुले आफ्ना आफन्तजनसँग कुरा गर्न पाएकोमा सन्तोष व्यक्त गरेका छन् । दुई महिनाभन्दा बढी समय परिवार र आफन्तसँग कुरा गर्न नपाउँदाको पीडा पनि उनीहरुले सामाजिक सञ्जालमा पोखेका छन् ।

मरियम रहसीले भनेकी छिन्, सम्पूर्ण ब्रम्हाण्डमा सबैभन्दा प्रिय आवाजः दुई महिनापछि काश्मिरमा साथीले पोष्टपेड मोबाइल उठाउनु रैछ । आफैले नभोगिकन यो जमानामा पनि यस्तो हुन्छ भन्ने पत्याउन ज्यादै मुश्किल हुने रैछ ।

विदेशमा रहेका काश्मिरीहरुले आफ्ना जहान परिवार र खासगरी साना छोराछोरीसँग फोनमा कुरा गर्न पाउँदा ज्यादै हर्षित भएको बताएका छन् ।

सञ्चार विच्छेदले काश्मिरको अर्थतन्त्रमा पनि ज्यादै नकारात्मक असर पारेको विश्लेषकहरुले बताएका छन् । यसबाट सूचनाप्रविधि व्यवसाय मात्र नभइ ब्यापार तथा सेवा व्यवसाय समेत नराम्ररी प्रभावित भएका छन् ।

काश्मिर उद्योग वाणिज्य संघका अनुसार ७२ दिन टेलिफोन र इण्टरनेट सेवा अवरुद्ध हुँदा काश्मिरले करीब १ खर्ब ६० अर्ब रुपैयाँ गुमाएको छ ।

मोदी सरकारले संविधानको धारा ३७० खारेज गरेर काश्मिरलाई दिइएको विशेष सुविधा खारेज गरेको थियो । यसले त्यहाँका मुश्लिमहरुमा असन्तुष्टि बढाएको छ भने पाकिस्तानले अन्तरराष्ट्रिय मञ्चहरुमा त्यसको चर्को बिरोध गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here