सांसद शाहले जनकपुर विमानस्थलमा गरे तोडफोड, उडान रोक्ने कम्पनीहरुको चेतावनी

काठमाडौं, २७ असोज । राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद शाहले जनकपुर विमानस्थलमा सोमबार तोडफोड गरी अराजक प्रवृत्ति देखाएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उनले जहाज उड्न ढिला भएको निहुँमा बुद्ध एयरको चेकइन काउन्टर तोडफोड गरेका छन् । भीआइपी कक्षमा समेत प्रवेश गरी तोडफोड गरेको प्राधिकरणको भनाई रहेको छ ।

बुद्धको जहाज ढिला आएको र यात्रुले कुर्नु परेको भन्दै उनले विमानस्थलमा तोडफोड गरी कर्मचारी माथि पनि अभद्र व्यवहार गरेको कम्पनीले जनाएको छ ।

उता, निजी क्षेत्रका वायुसेवा संचालकहरुको छाता संगठन वायुसेवा संचालक संघ (आयोन)ले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको चेकइन काउन्टरमा तोडफोड गर्ने सांसदमा कारवाही गर्न माग गरेको छ ।

सोमबार विज्ञप्ती निकाल्दै आयोनले ७ दिने अल्टिमेटम दिँदै कारवाही नभए जनकपुरका सबै उडान रद्द गर्ने चेतावनी दिएको छ ।

घटनाको छानविन गरी सात दिन भित्र कारवाही गर्न वायुसेवा संचालक संघ (आयोन)ले अल्टिमेटम दिएको हो ।

अराजक गतिविधि गर्ने माथि कारवाही नभए जनकपुरमा भइरहेको सम्पूर्ण उडान बन्द गर्ने आयोतको चेतावनी छ ।

पछिल्लो समय बढेका यस्ता गतिविधिले हवाई सुरक्षामै गम्भीर असर पुग्नेतर्फ सचेत हुन समेत आयोनले सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here