काठमाडौं । नेपालको सार्वजनिक खरिद अनुगमन कार्यालयले हालै दर्जनभन्दा बढी निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कांग्रेस नेता तथा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको स्वामित्वमा रहेको कान्छाराम कन्सट्रक्सन सहितका अन्य कम्पनीहरुलाई कार्यालयले आजै कालोसूचीमा राखेको हो । कार्यालयले सो कम्पनीलाई दुई वर्षभन्दा बढी समयका लागि कालोसूचीमा राखेको छ । अर्थात कम्पनीले यो अवधिभर सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैन ।
कान्छाराम कन्सट्रक्सनले एशियाली विकास बैंकको सहायतामा सञ्चालित ग्रामीण सम्पर्क सुधार परियोजनामा चिनियाँ कम्पनी चोङकिङ इन्टरनेसनल कन्स्ट्रक्सन कर्पोरेसन सिको सँग मिलेर मोरङ जिल्लामा सडक निर्माणको ठेक्का पाएको थियो। कम्पनीले पाँच वर्षको अवधिमा ५४ प्रतिशत मात्र काम पूरा गरेको पाइएको छ । साथै कामको गुणस्तर पनि अपेक्षाकृत कमजोर देखिएपछि, कोशी प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयले कालोसूचीमा राख्न सिफारिस गरेको हो
यो निर्णयले निर्माण क्षेत्रका कम्पनीहरूलाई जिम्मेवारीपूर्वक कार्य गर्न र तोकिएको समयसीमामा परियोजना सम्पन्न गर्न कडाइको सन्देश दिन्छ। एनबी कन्सट्रक्सन, बिरुवा कन्सट्रक्सन, र पूजा कन्सट्रक्सनलाई पनि तोकिएको अवधीका लागि कालोसूचीमा राखिएको छ। यस कार्यले सार्वजनिक खरिदमा पारदर्शिता र गुणस्तर कायम गर्न सकारात्मक कदमका रूपमा हेरिएको छ।