‘
काठमाडौं, २४ कात्तिक । यही कात्तिक ३० गते प्रदर्शनमा आउने भनिएको ‘मिसिङ्गः केटी हराएको सूचना’ले प्रदर्शन स्थगित गर्ने भएपछि बक्स अफिसमा ‘पूर्ण बहादुरको सारङ्गी’को एकछत्र राज हुने भएको छ ।
लक्ष्मिपूजाको दिन रिलिज भएको ‘पूर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा धमाका गरिरहेको छ । दर्शक र समालोचकहरुको माया र सकारात्मक समीक्षाले निम्नमध्यम वर्गको संघर्षको कथा बोकेको यो चलचित्रलाई बलिवूडका मेगास्टारर सिंघम अगेनलाईसमेत चुनौति दिन सक्षम बनाएको छ ।
चलचित्रको यही गतिलाई मध्यनजर गर्दै ‘मिसिङ्गः केटी हराएको सूचना’को निर्माता ट्राइसिटी पिक्चर्सले आफ्नो फिल्मको प्रदर्शन मिति सार्ने निधो गरेका हुन् । सुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै उनीहरुले पूर्वनिर्धारित मितिमा सिनेमा रिलिज नगर्ने बताए । ट्राइसिटी पिक्चर्सको यो कदमले ‘पूर्ण बहादुरको सारङ्गी’को बक्स अफिस दौडलाई साथ दिएको छ ।
नेपाली चलचित्रहरुलाई साथ दिदै आईरहेकोमा नेपाली दर्शकप्रति आभार व्यक्त गर्दै ट्राइसिटीले भनेको छ, लक्ष्मी पुजाको दिनदेखी प्रदर्शनरत नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले दर्शकहरुको अभुतपुर्व साथ प्राप्त गर्दै नेपाली चलचित्र क्षेत्रमा ईतिहास कायम गर्ने बाटोमा छ । यसले हामी चलचित्रकर्मीहरु अत्यन्तै हर्षित र उत्साहित भएका छौ ।
‘मिसिङ्गः केटी हराएको सूचना’को सम्पूर्ण कार्य सम्पन्न भएर सेन्सर जाँचपास भई कार्तिक ३० गते प्रदर्शन मिति तय गरिएको थियो ।
तर जुन प्रकारले चलचित्र पुर्ण बहादुरको सारङ्गीले दर्शकको साथ पाएको छ, यो अवस्थामा नयाँ चलचित्र आउँदा चलचित्र घरहरुले नयाँ चलचित्रलाई समेत शो बाँडफाँड गर्नुपर्ने अवस्थाको सृजना हुने हुँदा दर्शकको साथ प्राप्त चलचित्र समेतलाई असर पर्ने सम्भावना रहने भएकोले ईतिहास कायम गर्ने बाटोमा रहेको चलचित्रलाई सहज बनाईदिनु हाम्रो दायित्व हो भन्ने मान्यता कायम राख्दै ट्राई सिटी द्वारा निर्मित यहि कार्तिक ३० गते प्रदर्शन हुने चलचित्र ‘मिसिङ्गः केटी हराएको सूचना’को प्रदर्शन हाललाई स्थगित गरिएको जानकारी गराउन चाहान्छौ, ट्राइसिटीका अध्यक्ष नकिम उद्दिन र चलचित्र निर्देशक दिपेन्द्र गौचनले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।
उनीहरुले नयाँ प्रदर्शन मिति तय गरि सार्बजनिक गर्ने पनि बताएका छन् भने दर्शकका साथै चलचित्र घरलाई पर्न जाने असुविधाप्रति क्षमा पनि मागेका छन् ।
यो पनि पढ्नुस्ः
मिस्टर बिस्ट भारत आउने , चकलेट ब्रान्ड सार्वजनिक गर्न