रविसँग बुधबार लिइयो ९ घण्टासम्म बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भैरहवामा प्रहरीले बुधबार ९ घण्टा लामो समयसम्म बयान लिएको छ । बयान बुधबार लगातार दोस्रो दिन लिइएको हो ।

मंगलबार भैरहवा ल्याइएका उनीसँग बुधबार विहान सवा १० बजेदेखि सांझ सवा ७ बजेसम्म बयान लिइयो । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीहरु लगायतको उपस्थितिमा लामिछानेको बयान लिइयो ।

करिब ९ घण्टा बयान लिइएको र अझै नसकिएको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका प्रमुख न्यायाधिवक्ता प्रेमराज पौडेलले बताएका छन् ।

लामिछाने प्रबन्ध निर्देशक रहेका बेला रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगिएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको हो । यो सहकारीबाट २ करोड रुपैयाँ रवि लामिछानेकै नाममा पनि निकास भएको भेटिएको थियो ।

लामिछानेलाई सरकारी वकिलको कार्यालय लैजाने र ल्याउने क्रममा पत्रकारले फोटो समेत लिन नपाउने गरी प्रहरीले कडा सुरक्षा घेरा बनाएको थियो । सरकारी वकिलको कार्यालयमा ठूलो संख्यामा प्रहरी अधिकृतहरु नै खटिएर प्रहरीको घेरामा नै बयान कक्षसम्म पुर्‍याइएको थियो ।

आजको बयान पछि उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पोखरा र रुपन्देहीमा एकै प्रकृतिको कसुर भए पनि जिल्ला र संस्था फरक–फरक भएकाले लामिछानेबिरुद्ध रुपन्देहीमा छुट्टै मुद्दा दर्ता हुने रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here