सवा २५ खर्ब हाराहारी पुग्यो मुलुकको सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक वर्ष (आव) पहिलो चौमाससम्म सरकारको सार्वजनिक ऋण करिब ८४ अर्ब रुपैयाँले बढेको छ । १ साउनमा २४ खर्ब ३४ अर्ब १० करोड रहेको सार्वजनिक ऋण कात्तिक मसान्त आइपुग्दा ८३ अर्ब ९६ करोड बढेर २५ खर्ब १८ अर्ब ६ करोड पुगेको हो ।

सरकारले यस अवधिमा १ खर्ब ६५ अर्ब ७१ करोड रुपैयाँ थप सार्वजनिक ऋण लिएको छ । यो अवधिमा सावाँ र ब्याजमा मात्र १ खर्ब ८ अर्ब १४ करोड खर्च गरेको छ ।

चार महिनामा विनिमय दरमा आएको परिवर्तनका कारण ४ अर्ब ५६ करोड रुपैयाँ बराबर वैदेशिक ऋणको दायित्व थप भएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले चार महिनामा उठाएको रकममध्ये आधाभन्दा धेरै ऋण तिर्नै ठिक्क हुने गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकमा देखिन्छ ।

असोज मसान्तसम्म सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ रहेको थियो । कात्तिक मसान्तसम्म सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको आधारमा ४४.१४ प्रतिशत सार्वजनिक ऋण पुगेको छ ।

आर्थिक वर्ष २०८०–८१ को अन्तिमसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । पहिलो चौमासिकसम्म आइपुग्दा खुद सार्वजनिक ऋण ८३ अर्ब ९५ करोड थप भएर २५ खर्ब १८ अर्ब ५ करोड पुगेको हो ।

कार्यालयको तथ्यांक अनुसार कात्तिक मसान्तसम्म आन्तरिक ऋण १२ खर्ब ५२ अर्ब १६ करोड र वाह्य ऋण १२ खर्ब ६५ अर्ब ८९ करोड रहेको छ ।

यसअवधिसम्म सरकारले १ खर्ब ६५ अर्ब ७१ करोड रुपैयाँ ऋण लिएको छ । ८६ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी गरेको छ । विनिमय दरमा आएको परिवर्तनका कारण चार महिनामा ४ अर्ब ५६ करोड रुपैयाँ ऋण घटेको छ ।

सरकारले चालु आर्थिक वर्षभरि ५ खर्ब ४७ अर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण लिने लक्ष्य राखेको छ । जसमध्ये कात्तिकसम्म १ खर्ब ६५ अर्ब ७२ करोड ऋण उठाइएको हो । यो कुल लक्ष्यको ३०।३० प्रतिशत हो । यस वर्ष सरकारले ३ खर्ब ३० अर्ब आन्तरिक ऋण लिँदैछ ।

कात्तिक मसान्तसम्म १ खर्ब ४४ अर्ब आन्तरिक ऋण उठाइसकेको छ । जुन लक्ष्यको ४३.६४ प्रतिशत हो । यस वर्ष २ खर्ब १७ अर्ब रुपैयाँ वाह्य ऋण उठाउने लक्ष्य छ ।

कात्तिकसम्म २१ अर्ब ७२ करोड ऋण उठाइएको छ । जुन लक्ष्यको १०.०१ प्रतिशत मात्र हो । वाह्य ऋण सामान्यतया विकास खर्चसँग जोडिने गर्छ । विकास खर्चले गति लिने क्रमसँगै ऋण प्राप्तिसमेत बढ्ने कार्यालयको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here