काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध अफवाह फैलाउने नौ युट्युब च्यानल कारबाहीमा परेका छन् । प्रेस काउन्सिल नेपालले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै कम्बोडियाको टेलिकम कम्पनीमा साढे ३२ अर्ब रुपैयाँ लगानी गरेको भनेर गलत सामग्री प्रसारण गर्ने नौ ओटा युट्युब च्यानल कारबाहीमा परेका जानकारी दिएको हो ।
कारबाहीमा परेकामध्ये ६ ओटा युट्युब च्यानल काउन्सिलमा सञ्चार माध्यमका रूपमा सूचीकृत रहेका छन् । बाँकी तीन युट्युब च्यानल र फेसबुक पेजलाई भने अनुसन्धान गरी कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरिएको काउन्सिलले जनाएको छ ।
कारबाहीमा परेका च्यानलहरूमा लेकाली खबर, खबर बुलेटिन टिभी, न्युज इन नेपाल, रातोपर्दा टिभी, योहो टेलिभिजन एचडी र गुन्द्रुक न्युज छन् । त्यस्तै सूचीकृत नभएका च्यानल तथा फेसबुक पेजहरूमा पूर्वी गर्जन मिडिया, सगरमाथा पाना र नेपाल लाइभ एचडी रहेका छन् ।