सिपमूलक तालिम लिएका ३० जनालाई ‘अन द जब ट्रेनिङ्’,१८ हजार रुपैयाँ पारिश्रमिक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिप मेलाबाट तालिम लिएका ३० जना प्रशिक्षार्थीहरुलाई मासिक न्युनतम १८ हजार रुपैयाँ पारिश्रमिकसहित विद्युतीय र अन्य सवारी साधन मर्मतको ‘अन द जब’ का लागि पठाउने भएको छ । यसका लागि महानगरपालिका र चाँगुनारायण फाउन्डेसन बिच सम्झौता भएको छ । महानगरपालिकाका तर्फबाट सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र फाउन्डेसनका तर्फबाट अध्यक्ष मनिराज खत्रीले हस्ताक्षर गर्नुभएको सम्झौता मंगलबार उपप्रमुख सुनिता डंगोल र सामाजिक विकास समितिका संयोजक रामकुमार केसी बीच सम्झौतापत्र आदानप्रदान भएको छ ।

सम्झौतापछिको उपप्रमुख सुनिता डंगोलले ‘साझेदार सबैको भूमिका जोडेर साझा लक्ष्य पूरा गर्न सकिने बताइन् । ‘हामी वहुसाझेदार कार्यक्रममा पनि खुला छौँ, यसबाट दिगो नतिजा निकाल्न सकिनेमा विश्वास राखेका छौँ ’ उनले भनिन् ।

गएको वर्ष महानगरपालिकाले सिप मेलाबाट प्रदान गरेको अटो इलेक्ट्रिकमा ४० जना इलेक्ट्रिकल भेहिकल (इभी) मा ६० जना गरी १ सय जनाले १ महिने तालिम लिएका थिए । उनीहरुमध्य सबैलाई सम्पर्क गर्दा ५० जनाले रोजगारीमा जान इच्छा देखाएको बताइएको छ । बाँकीले रोजगार र स्वरोजगारमा भएको सूचना पठाइसककेका छन् । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार इच्छुक ५० जनामध्ये ३० जना छनोट गरेर ‘अन द जब ट्रेनिङ्’ मा पठाइनेछ । यसरी पारिश्रमिकसहितको तालिम र रोजगारीका लागि निजी तथा उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरुले प्रतिवद्धता जनाएकाछन् ।

फाउन्डेसनसँग २०८३ असार मसान्तसम्मका लागि सम्झौता भएको हो । यसबमोजिम प्रशिक्षार्थीलाई आधारभूत तालिम दिएर महानगरपालिकाले ‘अन द जव ट्रेनिङ्’ का लागि शिफारिस गर्नेछ । यसपछि कार्यस्थलमा सिप सिक्ने प्रबन्धको संयोजन फाउन्डेसनले गर्नेछ । यसरी कार्यस्थलमा सिप सिक्ने प्रशिक्षार्थीले मासिक कम्तीमा १८ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् । जसमा कार्यस्थल रहेको उद्योगबाट ९ हजार रुपैयाँ र फाउन्डेसनले ९ हजार रुपैयाँ प्रदान गर्नेछन् ।

‘अन द जब ट्रेनिङ्’ का विषयमा साझेदारसँग परामर्श वैठक

सिपमूलक तालिमबाट पेशा र व्यापार सिकाउन ‘अन द जब ट्रेनिङ्’ कार्यक्रम सञ्चालनमा निजी, उद्योग वाणिज्य तथा साझेदार संघ संस्थाको सहकार्यका विषयमा परामर्श वैठक सम्पन्न भएको छ । यस कार्यक्रममा सिपमूलक तालिमको २० प्रतिशत भार कक्षा कोठामा सैद्धान्तिक र ८० प्रतिशत भार विषयसँग सम्बन्धित उद्योग र पेशाको कार्यस्थलमा गएर व्यवहारिक सिप सिक्नुपर्छ । कार्यस्थलमा सिप सिक्दा पारिश्रमिक पनि उपलब्ध गराइन्छ । गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत अप्रेन्टिसिप कार्यक्रम सञ्चालन हुनेछ ।

वैठकमा उद्योग, वाणिज्य तथा निजी क्षेत्र र साझेदार संघसंस्थाका प्रतिनिधिहरुबाट प्राप्त गुनासा र सुझावहरुको सम्बोधन गर्दै उपप्रमुख सुनिता डंगोलले भनिन् ‘सबैको प्रयत्न र सहभागिताबाट मात्र कार्यक्रममा नतिजा प्राप्त गर्न सकिन्छ । यसका लागि हामी सम्बद्ध क्षेत्रका कुरा सुन्न खुला छौँ । यसरी आउने प्रतिक्रियाको निचोडबाट तर्जुमा गरिने कार्यक्रम दिगो र लाभदायी हुन्छ । यसमा सहकार्य गर्न पनि हामी खुला छौँ ।’

विद्यालयको औपचारिक शिक्षामा सिपमूलक तालिमलाई स्थापित गर्दै लगेको बताउँदै सिपमूलक तालिमबाट वेरोजगारी घटाउने र आर्थिक क्रियाकलाप बढाउने लक्ष्य हासिल गर्ने कार्यक्रमलाई विभिन्न कोणबाट कार्यान्वयनमा ल्याएको जानकारी दिइन् । ‘विगतका भोगाइ र सिकाइ तथा वर्तमानको माग र आवश्यकताका आधारमा हामी कार्यक्रम कार्यान्वयन गर्दै जानेछौँ ।’ सामाजिक समितिका संयोजक रामकुमार केसीले भने ‘सिपमूलक तालिम कार्यक्रम सम्पन्न गर्न मात्र होइन । यहाँबाट उत्पादन भएका जनशक्ति उद्योगको आवश्यकता पूरा गर्न सक्ने बन्न सकुन् भन्नेमा सचेत छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here