विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री अमेरिका प्रस्थान

काठमाडौं, २८ असोज । अर्थमन्त्री डा. युवराज खतिवडा संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । वासिङ्गटन डि.सीमा आयोजना हुने विश्व बैंक समूह र अन्तरराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन अमेरिकातर्फ प्रस्थान गरेका हुन् ।

विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोष अन्तर्गत नेपाल दक्षिण पूर्व एशियाली मतदान समूहको सदस्य रहेकोले सो समूहद्वारा आयोजना हुने संयुक्त बैठकमा अर्थमन्त्री डा. खतिवडा सहभागी हुन लागेका हुन् । उनले विश्व बैंक समूह तथा अन्तरराष्ट्रिय मुद्रा कोषका वरिष्ठ अधिकारीहरुसँग द्विपक्षीय छलफल गर्नेछन् ।

खतिवडाले अन्तरराष्ट्रिय विकास संस्थाबाट नेपालको नीतिगत सुधारको लागि प्राप्त हुदै आएको सहायतालाई थप प्रभावकारी बनाउने उपायलगायत सहायताका थप क्षेत्र र सम्भावना बारे विस्तृत छलफल गर्नु हुने कार्यक्रम तय भएको छ ।

साथै संघीयता कार्यान्वयनको क्रममा नेपालले हासिल गरेका अनुभवको आदान प्रदान गर्ने कार्यक्रममा अर्थमन्त्री डा। खतिवडा सहभागी हुनेछन् ।

साथै विश्व बैंकको अन्तरराष्ट्रिय विकास संस्थासँग नेपालको सहकार्य ५० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा समेत उपस्थित हुने कार्यक्रम छ । नेपाललाई सहयोग गरिरहेका अन्य दातृ मुलुक तथा संस्थाका उच्च पदाधिकारीहरुसँग पनि उहाँले द्विपक्षीय भेट गर्नेछन् ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्षता हाल नेपालले गरिरहेको परिप्रेक्ष्यमा सार्कका अर्थमन्त्रीहरु सम्मिलित अनौपचारिक बैठकको अध्यक्षता समेत अर्थमन्त्री डा. खतिवडाले गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा अर्थमन्त्री डा. खतिवडाले एशियाली विकास बैंकका उपाध्यक्षसँग समेत आपसी सहयोगका विषयमा छलफल गर्नेछन् ।

प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालय, अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव श्रीकृष्ण नेपाल समेत सहभागी हुनेछन् । अर्थमन्त्री डा. खतिवडा कार्तिक ६ गते स्वदेश फर्किने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here