वित्तीय पहुँच ६१ प्रतिशत पुग्यो, १ करोड ८० लाख नेपालीको निक्षेप खाता

काठमाडौं २९, असोज । नेपालको कुल जनसंख्याको करिब ६१ प्रतिशतको बैंक खाता पुगेको छ । राष्ट्र बैंकले गरेको वित्तीय पहुँच स्थिति अध्ययनले उक्त कुरा देखाएको हो । प्रतिवेदनले कुल जनसंख्याको ६०.९ प्रतिशतमा वित्तीय पहुँच पुगेको देखाएको छ । यसमा लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारीबाट सेवा प्राप्त गर्ने जनसंख्यालाई समावेश गर्ने हो भने यो हिस्सा अझै बढ्ने अध्ययनमा उल्लेख छ ।’

यसअघिका अध्ययनहरुले करिब ४० प्रतिशत नागरिकमा मात्र औपचारिक रुपमा वित्तीय पहुँच पुगेको बताएका थिए ।

राष्ट्र बैंकले गरेको अध्ययनमा बैंक तथा वित्तीय संस्थामा भएका प्राकृतिक व्यक्तिको मात्र खाता समावेस गरिएको छ । संस्था, कम्पनीको बैंक खाता समावेस नगरिएको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका अनुसार गत एक वर्षमा मात्रै बैंक तथा वित्तीय संस्थाका २ हजार भन्दा बढी शाखा थपिएका छन् । कुल ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३९ तहमा वाणिज्य बैंकका शाखा पुगिसकेका छन् । पछिल्ला दिनमा प्रतिबैंक शाखा जनसंख्या उल्लेख्य रुपले घट्दै गएको छ भने कुल जनसंख्याको हाराहारीमा बैंक तथा वित्तीय संस्थाको निक्षेप खाता संख्या पुग्ने अवस्थामा रहेको राष्ट्र बैंकले बताएको छ ।

वित्तीय पहुँच मापन गर्ने विभिन्न आधारहरुमध्ये बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता भएको जनसंख्यालाई वित्तीय पहु“चको एउटा मानकको रुपमा लिएको राष्ट्र बैंकले बताएको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा रहेका नेपालीको तीनपुस्ते विवरणलाई विश्लेषण गरी एक व्यक्तिको एक भन्दा बढी रहेका खाता हटाएर एक व्यक्ति एक खाता मात्र अध्ययनमा समावेस गरिएको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनका अनुसार बैंक तथा वित्तीय संस्थाका प्रतिशाखा जनसंख्या करिब ३ हजार ३ सय पुगेको छ । पछिल्ला वर्षमा निक्षेप खाता संख्या बढेर २ करोड ७८ लाख र कर्जा खाताको संख्या १४ लाख ४० हजार पुगेको छ ।

यस्तै, मोवाइल बैकिङ प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार र जारी भएका डेविट कार्डको संख्या ६७ लाख ९ हजार पुगेको प्रतिवेदनको निष्कर्ष छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here