रवि लामिछानेलाई आज काठमाडौं ल्याईंदै

काठमाडौं । सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै छ । काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई ल्याउन लागिएको हो ।

उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने छ । उनलाई दुई वा तीन दिन काठमाडौंमा राखेर बयान लिने सम्भावना छ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ । लामिछानेलाई पछिल्लोपटक मंसिर ९ गते १५ दिन म्याद थप भएको छ । १५ दिनको म्याद मंसिर ८ गतेदेखि गणना हुने छ ।

लामिछानेसँगै छविलाल जोशी र कुमार रम्तेल पनि सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । उनीहरु पनि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

चितवनको सहारा सहकारीको रकम पनि गोर्खा मिडियामा प्रयोग गरेर अपचलन गरेको आरोप उनीहरुलाई छ । जिल्ला अदालत चितवनले मंसिर ७ गते रविसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

त्यसअघि काठमाडौंबाट समेत रविविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । यसबीचमा लामिछानेलाई बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अपचलन प्रकरणको अनुसन्धानका लागि रुपन्देहीमा लगेर समेत बयान लिइएको थियो ।

गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारी संस्थाबाट लिएको ऋण र अन्य कारोबारबारे आफूलाई जानकारी नभएको दाबी गर्दै आएका रवि लामिछानेले सहकारी संस्थालाई ब्याजस्वरुप चेक काटेर रकम दिएको फेला परेको प्रहरी स्रोतको दाबी छ ।

तर लामिछानेले भने हस्ताक्षरसहितको चेक आफूले टेबुलको घर्रामा राख्ने गरेको र कसैले त्यसको दुरुपयोग गरेको हुनसक्ने जिकिर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here