काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीनको औपचारिक भ्रमण सुरु गर्दैछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ जान लागेको हो ।
बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रस्थान गर्ने ओली स्थानीय समयअनुसार साँझ ६ः१० बजे चीनको राजधानी बेइजिङ पुग्ने छन् । भ्रमणका क्रममा मंसिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् ।
तत्पश्चात् दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनफङलाई भेट गर्नेछन् । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट हुनेछ ।
मंसिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन र बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन हुनेछ । सोही दिन सङ्ग्रहालय भ्रमण रहेको छ । प्रधानमन्त्री ओली मंसिर २० गते २ः३० बजे स्वदेश फर्कने छन् ।