नेकपाको चियापान राजपाद्वारा बहिष्कार,डा. भट्टराई पनि गएनन्

काठमाडौं २९ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजना गरेको चियापान कार्यक्रम राष्ट्रिय जनता पार्टी नेपालले बहिष्कार गरेको छ । संविधान संशोधनको विषयमा सरकारसँग रुष्ट रहँदै आएको राजपाले आफ्नो पार्टीका सांसद प्रमोदकुमार साहलाई पक्राउ गरेको विरोधमा चियापान बहिष्कार गरेको हो ।
भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई देखिएनन,पार्टीका अर्का अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव उपस्थित भएका थिए । चियापानमा नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा सर्वसाधारण र भीआईपीका लागि छुट्टाछुट्टै चिया–खाजाको व्यवस्था गरिएको थियो । सर्वसाधारणका लागि लड्डु, नमकिन, केरा र चियाको व्यवस्था थियो भने भीआईपीका लागि विशेष प्याकेटको व्यवस्था गरिएको थियो ।

मुलुकको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता, साझेदारी र सहकार्यको मौलिक विशेषतासँगै लामो समयदेखि चल्दै आएको चाडबाड तथा संस्कृतिले नेपाली नेपालीबीचको एकतालाई अझ मजबुत बनाउने उद्देश्यले नेकपाले हरेक वर्ष कार्यक्रम गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here