काठमाडौं । भारतसँगको खुला सिमानाबाट हुने तस्करी र नाकाबाट हुने अनधिकृत आयातले नेपाली चिनी उद्योगीहरू समस्यामा परेको व्यवसायीले गुनासो गरेका छन् ।
नेपालको चिनीको भन्दा भारतमा चिनीको मूल्य कम हुँदा भारतबाट चिनी तस्करीमार्फत् पैठारी हुँदा नेपालमा उत्पादन भएको चिनीले बजार नपाउने समस्या सिर्जना भएको उद्योगीको भनाई छ ।
मंगलबार नेपाल चिनी उद्योग संघले राजधानीमा पत्रकार सम्मेलन गरेर तस्करीको चिनीकै कारण नेपाली चिनी उद्योगीहरू मारमा परेका बताएको छ । चिनी उद्योग संघले चिनीको अनधिकृत आयात अविलम्ब रोक्न समेत भनेको छ ।
स्वदेशमा स्थापित चिनी उद्योगहरूले गत सिजनमा उत्पादन गरेको चिनी उद्योगहरूमा मौज्दात रहेको भन्दै खुला सीमाका कारण भइरहेको अनधिकृत आयात रोक्न संघले माग गरेको हो । संघका अनुसार गत वर्षको चिनी ५ हजार टन मौज्दात छ ।
‘गत सिजनमा उत्पादित चिनी केही उद्योगहरूमा मौज्दात रहेको र खुला सीमाका कारण हाल अत्यधिक मात्रामा भइरहेको चिनीको अनधिकृत पैठारीका कारणले गर्दा चालु क्रसिङ सिजनमा उत्पादन हुने चिनी समेत समयमा नै बिक्री नभई मौज्दात रहन जाने व्यहोरा सम्पूर्ण सरोकारवालाहरूमा जानकारी गराउँदछौं,’ संघले पत्रकार सम्मेलनमार्फत भनेको छ ।
खुला सीमाका कारण अत्यधिक चिनी आयात हुँदा स्वदेशी उद्योगबाट उत्पादित चिनी बिक्री हुन नसकी मौज्दात रहन जाँदा कृषकलाई समयमा नै उखुको भुक्तानी गर्न समस्या भएको र केही उद्योगहरू बन्द नै हुन पुगेको संघले जनाएको छ ।
चालु सिजनमा समयमै उद्योग सञ्चालन हुन नसकेमा लाखौं उखु किसानहरूको भविष्य समेत अन्योलमा पर्न गई चिनी उद्योगहरू थप संकटमा पर्न जाने संघको भनाइ छ ।