काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर परिसूचक नेप्सेमा पुनः उच्च अंकको गिरावट आएको छ ।
बुधबार ५.६० अंकले घटेको सेयर बजार बिहीबार ३१.४३ अंकले घटेर २५ सय ९६ दशमलव ८२ बिन्दुमा आइपुगेको हो ।
आज कारोबार रकम भने बुधबारको तुलनामा बढेर ४ अर्ब ७६ करोड पुगेको छ । बिहीबार कारोबारमा आएका सबै परिसूचकहरू घटेका छन् । सबैभन्दा उच्च दरले ट्रेडिङ इन्डेक्स २ दशमलव ७३ प्रतिशतले घटेको छ।
त्यस्तै काराेबारमा आएका कम्पनीहरूमध्ये सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेर ३३२७ अंक पुगेको छ । यता सबैभन्दा धेरै घटेको नारायणी विकास बैंकको सेयर मूल्य ९ प्रतिशतले घटेर १३०१ मा झरेकाे छ।