एनपीएल फाइनल आज : विजेताले सवा करोड पुरस्कारसहित इतिहास रच्दै

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरू हुने फाइनल खेल नेपाली क्रिकेटका लागि एक इतिहास बन्ने छ ।

नेपालमा सर्वाधिक पुरस्कार राशी र चर्चा कमाएको यो प्रतियोगिताले विश्व क्रिकेटमा राम्रो छाप पार्न सफल भएको छ ।

फाइनल खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरी र जनकपुरका कप्तान आसिफ शेख दुवैले हजारौं दर्शकमाझको यस फाइनल खेलका लागि तयार रहेको बताए । मैदानमा दर्शकको उपस्थितिले ऊर्जा र मोटिभेसन मिल्ने दुवैको साझा धारणा थियो ।

राम्रो तालिम भइरहेको बताउँदै सुदूरका कप्तान दिपेन्द्रले जनकपुरलाई लिग चरणमा दुईपटक हराएको भएपनि हल्का रूपमा लिन नहुने बताए । ‘जनकपुरको टिम पनि राम्रो छ, टफ नै हुन्छ । हामी जुन प्लानिङ गर्दै खेलिरहेका छौं त्यसैगरी फाइनलको लागि पनि तयारी गरिरहेका छौं’ दिपेन्द्रले भने ।
जनकपुरका कप्तान आसिफले सुदूरपश्चिम बलियो टोली रहेको बताउँदै पछिल्ला खेलमा आफूहरूले बेस्ट दिन नसकेको उल्लेख गरे ।

जित्नु छ भने आफ्नो बेस्ट दिनुपर्छ, दुई खेल खेल्दा पनि बेस्ट दिएका छैनौं, शनिबारको खेलमा उत्कृष्ट खेल्ने प्रयास रहनेछ, कम्पिटेटिभ हुनेछ गेम’ उनले भने, ‘हामी प्रोसेसलाई फलो गर्दै जाने हो, खेलाडीहरूलाई ब्याक गरिराख्छौं अनि हौसला पनि दिइरहेका छौं।’

सुदूर र जनकपुर प्रतियोगितामा तेस्रोपटक भिड्न लागेका हुन् । यसअघि लिग चरणमा भएको भेटमा सुदूरले जनकपुरलाई ५१ रनमा अलआउट गर्दै ७२ रनको फराकिलो जित निकालेको थियो । त्यसैगरी पहिलो क्‍वालिफायरमा जनकपुरमाथि ८ विकेटको जित निकालेर सुदूर सोझै फाइनलमा पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here